images
images

चुनाव प्रचारप्रसारलाई मर्यादित बनाउन आयोगको नयाँ प्रस्ताव

काठमाडौँ । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारलाई मर्यादित र व्यवस्थित बनाउने उद्देश्यले झण्डा, जुलुस र प्रचार सामग्रीको प्रयोगमा कडाइ गर्ने नयाँ व्यवस्था प्रस्ताव गरेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तयार पारिएको प्रस्तावित आचारसंहिताअनुसार राजनीतिक दलले आमसभा, जुलुस, कोणसभा तथा घरदैलो कार्यक्रममा बढीमा १० वटा मात्र झण्डा प्रयोग गर्न पाउनेछन्। आवश्यकताभन्दा बढी झण्डा प्रयोग भएर दुरुपयोग नहोस् भन्ने उद्देश्यले यो व्यवस्था गरिएको आयोगले जनाएको छ।

प्रस्तावित आचारसंहितामा दल वा उम्मेदवारको कार्यालयमा तीन × चार फिट नापको झण्डा र सोही नापको चुनाव चिन्ह राख्न पाइनेछ। तर प्रचारका लागि डिजिटल बोर्ड, फ्लेक्स, ग्लुसाइन बोर्ड, श्रव्य तथा श्रव्यदृश्य सामग्री प्रयोग गर्न नपाइने उल्लेख छ। दल वा उम्मेदवारको नाम र चिन्ह भएको एउटा मात्र तुल वा फ्लेक्स राख्न अनुमति दिने प्रस्ताव गरिएको छ। घरदैलो प्रचारमा उम्मेदवार, प्रस्तावक र समर्थकसहित २५ जनाभन्दा बढी सहभागी हुन नपाइने व्यवस्था गरिएको छ। बाजागाजा वा झाँकीसहित प्रचारमा जान पनि निषेध गरिएको छ।

अनलाइन, वेबपेज, टेलिभिजन, स्क्रोलिङ, सपिङ मल डिस्प्ले, कल सेन्टर, बैंकका एटिएम वा काउन्टर, सडक नाटकजस्ता माध्यमबाट प्रचार गर्न पाइने छैन। तर दल वा उम्मेदवारले एउटा निजी र आधिकारिक वेबपेजमा मात्र प्रचार सामग्री राख्न सक्नेछन्। यसैगरी दलको झण्डा वा चुनाव चिन्हका तोरण सार्वजनिक रूपमा प्रदर्शन गर्न, भित्तेलेखन गर्न तथा चारपाङ्ग्रे गाडी, मोटरसाइकल, साइकल, रिक्सा, टाँगा, ठेलागाडालगायत सवारी साधन प्रयोग गरी र्‍याली वा प्रचार गर्न पनि रोक लगाउने प्रस्ताव गरिएको छ।

आयोगले निर्वाचनलाई स्वच्छ, शान्त र मर्यादित बनाउने लक्ष्यसहित आचारसंहिता प्रस्ताव गरिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्