नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत आज उम्मेदवार दर्ताको कार्यतालिका रहेको छ। केन्द्रीय निर्वाचन आयोगका अनुसार उम्मेदवार दर्ता आज बिहान साढे १० बजेदेखि दिउँसो साढे १ बजेसम्म हुनेछ।
महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आ–आफ्नो प्यानल बनाएर निर्वाचनमा जाने तयारी गरेका छन्।
यसैक्रममा पार्टीको संगठनात्मक दृष्टिले महत्वपूर्ण मानिने महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा हुने भएको छ। अध्यक्ष ओली पक्षबाट वर्तमान महासचिव शंकर पोखरेल पुनः उम्मेदवार बनेका छन्। महासचिव पदका लागि ओली पक्षबाट प्रदीप ज्ञवालीले दाबी गरे पनि ओली आफ्ना विश्वासपात्र पोखरेलकै पक्षमा उभिएका छन्। ज्ञवालीलाई भने उपाध्यक्ष पदमा उम्मेदवार बनाइएको छ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षले महासचिव पदका लागि सुरेन्द्र पाण्डेलाई अगाडि सारेको छ। यससँगै एमालेको हाइप्रोफाइल पद मानिने महासचिवमा पोखरेल र पाण्डेबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।
केन्द्रीय निर्वाचन आयोगले उम्मेदवारका लागि फाराम वितरण सुरु गरिसकेको छ। सोमबार नै उम्मेदवारीमाथि दाबी–विरोध, छानबिन तथा नाम फिर्ताको प्रक्रिया पूरा गरी साँझ ६ बजे अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ।










प्रतिक्रिया दिनुहोस्