images
images

राष्ट्रिय हस्तकला विकास नीति छिटो लागू गर्न महासंघको सरकारसँग माग

काठमाडौं । नेपाल हस्तकला महासंघले समग्र हस्तकला क्षेत्रको विकास र प्रवर्द्धनका लागि राष्ट्रिय हस्तकला विकास नीति शीघ्र लागू गर्न सरकारसँग आग्रह गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नीतिको मस्यौदा पेश भइसकेको उल्लेख गर्दै महासंघले त्यसलाई तत्काल कार्यान्वयन गर्न माग गरेको हो।

आइतबार ललितपुरमा आयोजित महासंघको ५३औँ वार्षिकोत्सव तथा १४औँ हस्तकला दिवस कार्यक्रममा यो माग सार्वजनिक गरिएको हो। कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिल कुमार सिन्हाले आन्तरिक र बाह्य बजारमा अर्बौँ रुपैयाँको कारोबार गर्ने हस्तकला क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको बताए। आन्तरिक कच्चा पदार्थको उपयोग, स्थानीय रोजगारी सिर्जना र देशको सांस्कृतिक पहिचानमा हस्तकलाले दिएको योगदानलाई ध्यानमा राख्दै नीति तथा कार्यक्रम अघि बढाइने उनले बताए।

मन्त्री सिन्हाले काठमाडौं उपत्यकाबाहेक अन्य प्रदेशहरूमा पनि हस्तकला विस्तार भइरहेको उल्लेख गर्दै महासंघले उठाएका विषयमा छलफल गरी प्राथमिकताका आधारमा सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरे।

सोही अवसरमा बागमती प्रदेशका उद्योग, वाणिज्य तथा भूमि प्रशासनमन्त्री विन्दु श्रेष्ठले हस्तकला क्षेत्रको ठूलो हिस्सा काठमाडौं उपत्यकामा केन्द्रित रहेको बताउँदै प्रदेश सरकारले यसको प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने जनाइन्। उनले आगामी वर्ष मंसिर २८ गते हस्तकला दिवस मनाउने घोषणा गर्ने तयारी रहेको जानकारी दिइन्। प्रदेश सरकारले १३ जिल्लाका हस्तकला उद्यमीलाई प्रदर्शनीमार्फत संरक्षण र प्रवर्द्धन गरिरहेको उनको भनाइ छ।

महासंघका अध्यक्ष रविन्द्र शाक्यले राज्यले हस्तकला क्षेत्रलाई पर्याप्त अपनत्व नदिएको गुनासो गरे। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राष्ट्रिय हस्तकला विकास नीति पेश गरिसक्दा पनि कार्यान्वयनमा चासो नदेखिएको उनको भनाइ छ। नयाँ पुस्तालाई हस्तकलातर्फ आकर्षित गर्न हस्तकलामैत्री नीति–नियम आवश्यक रहेको भन्दै उनले नीति तत्काल लागू गर्न मन्त्रीसमक्ष आग्रह गरे।

वार्षिक २५ देखि ३० अर्ब रुपैयाँसम्मको हस्तकला निर्यात गर्ने यो क्षेत्रलाई सरकारले उपेक्षा गरेको उल्लेख गर्दै उनले साना तथा मझौला तथा घरआधारित रोजगारी दिने व्यवसायका लागि छुट्टै निकाय आवश्यक रहेको बताए। “हस्तकला विभाग वा कम्तीमा एउटा अलग शाखा चाहिन्छ, सबै उद्योगलाई एउटै डालोमा नराखौँ,” उनले भने।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष अञ्जन श्रेष्ठले कला, संस्कृति र भाषाको जगेर्नामा महासंघले खेलेको भूमिकाको प्रशंसा गरे। हस्तकला व्यवसायलाई उचाइमा पुर्‍याउन महासंघले सहयोग गर्ने प्रतिबद्धता जनाउँदै उनले जिल्लास्तरका संघमार्फत व्यवसायी र उद्यमलाई जोड्ने बताए। मुलुकमा करिब ७० प्रतिशत विदेशी सामग्री प्रयोग भइरहेको उल्लेख गर्दै त्यसलाई घटाउनुपर्ने र शिक्षालाई जागिरमुखीभन्दा उद्यमशीलतामुखी बनाउनुपर्नेमा उनले जोड दिए।

दिवसका अवसरमा महासंघका निवर्तमान अध्यक्ष प्रचण्डमान शाक्यको संयोजकत्वमा हस्तकला क्षेत्रमा दशकौँ योगदान दिएका ज्येष्ठ कलाकार तथा आर्थिक वर्ष २०८१/८२ मा बढी वस्तु र रकम निर्यात गर्ने व्यवसायी छनोट गरिएको थियो। कार्यक्रममा हस्तकलाका विभिन्न वस्तु निर्यात गर्दै आएका शीर्ष ११ व्यवसायीलाई मन्त्री सिन्हाले सम्मानपत्र प्रदान गरे।

प्रतिक्रिया दिनुहोस्