गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणसम्बन्धी विवाद कायमै रहेका बेला कलाकार जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स–परिवार अमेरिका पुगेका छन्। छोरीको जटिल स्वास्थ्य समस्याका कारण केही दिनअघि अमेरिका पुगेका धुर्मुस–सुन्तलीले उपचारपछि नेपाल फर्किने बताएका छन्।
अमेरिकाबाट सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको लामो बकपत्रमा धुर्मुसले रंगशाला निर्माणका क्रममा भोगिएको तनाव, झुटा आरोप र चलिरहेका कानुनी प्रक्रियाबारे स्पष्ट पारेका छन् । छोरीको निःशुल्क उपचार सुविधा उपलब्ध भएकाले अमेरिका आउनु परेको उल्लेख गर्दै उनले उपचार सकेर यथाशीघ्र नेपाल फर्किने प्रतिवद्धता जनाएका छन्।
रंगशाला निर्माण विवादबारे पाँच वर्षसम्म मौन बसेको धुर्मुस–सुन्तली फाउन्डेसनले पहिलोपटक विस्तृत जानकारी सार्वजनिक गर्दै आफूहरू अझै १८ करोड ४३ लाख रुपैयाँको आर्थिक दायित्वमा फँसेको जनाएको छ। रंगशाला निर्माणका क्रममा उधारोमा खसालिएका निर्माण सामग्रीहरूको बक्यौता आजसम्म राज्यबाट भुक्तानी नहुँदा आर्थिक र मानसिक असर परेको उनले बकपत्रमा उल्लेख गरेका छन् ।
‘धुर्मुस’ले २०७२ सालको भूकम्पपछि अमेरिकाबाट फर्केर सामाजिक कार्यमा लागेको उक्त टोलीले पछिल्ला वर्षहरूमा “लाञ्छना, अफवाह र भ्रम” खेप्नुपरेको दाबी गरेका छन्। उनका अनुसार विभिन्न सरकारी निकायबाट चार्टर्ड एकाउन्टेन्ट र प्राविधिक समितीद्वारा भएको मूल्यांकनमा “एक रुपैयाँ हिनामिना नदेखिएको” भए पनि आफूहरूलाई ‘ठग’ का रूपमा चित्रण गरिएको गुनासो छ।














प्रतिक्रिया दिनुहोस्