images
images

एलपीजी पाइपलाइन र सिनामंगल इन्धन डिपो सार्न भारतसँग सहयोग माग्दै नेपाल

काठमाडौँ । नेपालले भारतसँग एलपीजी (खाना पकाउने ग्यास) पाइपलाइनमार्फत आयात गर्ने र काठमाडौँको सिनामंगलस्थित नेपाल आयल निगमको हवाई इन्धन डिपो स्थानान्तरणका लागि सहयोग मागेको छ। भारतको नयाँ दिल्लीमा मंसिर २२ गते सम्पन्न नेपाल–भारत पेट्रोलियम तथा ग्याससम्बन्धी संयुक्त कार्यसमूहको पाँचौँ बैठकमा नेपालले यी दुई प्रस्ताव औपचारिक रूपमा राखेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव शिवराम पोखरेलले जानकारी दिए।

हाल नेपालले भारतबाट आयात गर्ने पेट्रोल, डिजेल र मट्टीतेलको ठूलो मात्रा पाइपलाइनमार्फत भित्रिन्छ। सन् २०१९ मा पहिलोपटक डिजेल पाइपलाइनबाट ल्याइएको थियो भने सन् २०२५ देखि पेट्रोल र मट्टीतेल पनि पाइपलाइनमार्फत ल्याउने तयारी छ। अब एलपीजी पनि त्यही माध्यमबाट ल्याउन प्रस्ताव गरिएको पोखरेलले बताए।

यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिकै रहेको सिनामंगल हवाई इन्धन डिपो स्थानान्तरणका लागि भारतको सहयोग मागिएको छ। हवाई इन्धन पाइपलाइनबाट ल्याउने विषयमा नेपाल–भारतबीच एक वर्षअघि नै सहमति भइसकेको र बैठकमा यसलाई छिटो कार्यान्वयन गर्नेबारे छलफल भएको सरकारी अधिकारीहरूको भनाइ छ। सरकारले सिनामंगल डिपो गुहेश्वरीमा सार्ने निर्णय गरिसकेको र त्यहाँ नयाँ हवाई इन्धन भण्डारण सुविधा निर्माणका लागि भारतलाई सहयोगका लागि अनुरोध गरिएको नेपाल आयल निगमले जनाएको छ।

हवाई इन्धन आयातका लागि अमलेखगञ्ज–लोथर पाइपलाइन निर्माण कार्य सुरु भइसकेको छ। लोथरमै नयाँ भण्डारण बनाइनेछ। दुई देशबीच गतवर्ष भएको सहमतिअनुसार यही पाइपलाइनमार्फत हवाई इन्धन आयात हुनेछ। पोखरेलका अनुसार बैठकमा पेट्रोलियम पाइपलाइन विस्तारका कामलाई तीव्रता दिन, निर्माणका क्रममा देखिएका समस्या समाधान गर्न र पूर्व सहमतिलाई कार्यान्वयनमा लैजान दुवै पक्ष सहमत भएका छन्।

भारतको सिलगुढीदेखि झापाको चारआली तथा अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पाइपलाइन विस्तारका काम अघि बढिरहेका छन्। सिलगुढी–चारआली खण्डको ५० किलोमिटरमध्ये ३५ किलोमिटर नेपालतर्फ पर्नेछ। अमलेखगञ्ज–लोथर ६२ किलोमिटर पाइपलाइन तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ। मंसिर १५ को मन्त्रिपरिषद् बैठकले सहसचिव पोखरेल नेतृत्वको नेपाली टोलीलाई उक्त बैठकमा सहभागी हुन स्वीकृति प्रदान गरेको थियो। बैठक सकेर नेपाली प्रतिनिधिमण्डल बुधबार स्वदेश फर्किएको छ।

प्रतिक्रिया दिनुहोस्