सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शिक्षित समाज निर्माण र पठन–संस्कृतिको विकासका लागि किताब जात्राजस्ता अभियानहरू महत्वपूर्ण माध्यम भएको बताएका छन्। किताब जात्राको सातौँ संस्करणको बिहीबार उद्घाटन गर्दै उनले सबै नागरिकको शिक्षा पहुँच बढाउन राज्य, अभिभावक र सबै सरोकारवालाले समान रूपले जिम्मेवारी वहन गर्नुपर्नेमा जोड दिए। मन्त्री खरेलले गुणस्तरीय शिक्षाबाटै उज्यालो भविष्य निर्माण हुने उल्लेख गर्दै भने, “शिक्षाभन्दा ठूलो शक्ति संसारमा छैन। शिक्षा नै अध्यारो हटाउने ज्योति हो। आज पनि विद्यालय जान नपाएका बालबालिकाहरूलाई गुणस्तरीय शिक्षा दिलाउन हामी सबैको कामना र प्रतिबद्धता आवश्यक छ।”
उनले पुस्तक, सिर्जना र विचारको उत्सवले समाजलाई समृद्ध, सचेत र संवेदनशील बनाउने उल्लेख गर्दै किताब जात्राको निरन्तरताप्रति आयोजकलाई धन्यवाद ज्ञापन गरे।
“गत वर्ष प्यानलमा बसेर विचार–विमर्श गर्न पाएको खुसी अझै ताजै छ। यस वर्ष पनि सम्झना गरेर बोलाइदिनुभएकोमा आयोजकप्रति आभार छ,” उनले भने।
सरकारका प्रवक्ता समेत रहेका मन्त्री खरेलले सरकारले निर्धारित समयमै निर्वाचन सम्पन्न गर्ने, सुशासन प्रवर्द्धन गर्ने, तथा भ्रष्टाचार नियन्त्रण गर्न दृढतापूर्वक काम गरिरहेको जानकारी दिए। संवेदनशील समयमा देशलाई सही दिशा दिने जिम्मेवारी सबैमा रहेको भन्दै उनले सहकार्य र सामूहिक प्रयासका लागि आह्वान गरे।
किताब जात्राका निर्देशक ऋषिराज अधिकारीले पठन–संस्कृति विस्तार तथा शिक्षाप्रति नागरिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले किताब जात्राको आयोजना हुँदै आएको बताए। दुई दिने कार्यक्रममा पुस्तक प्रदर्शनीसँगै विभिन्न प्राज्ञिक सत्र हुने जनाइएको छ। कार्यक्रममा कलाकारहरूले विविध कला र संस्कृतिको झल्को दिने प्रस्तुति समेत प्रस्तुत गरेका थिए।










प्रतिक्रिया दिनुहोस्