नेपाल प्रिमियर लिग ९एनपीएल० को दोस्रो सिजन अन्तिम चरणमा पुगेका बेला टिकट व्यवस्थापनलाई लिएर क्रिकेट संघ क्यान विवादमा तानिएको छ। कुनै सूचना बिना नै जनरल जोनकै केही भागलाई अचानक ‘प्रिमियम’ मा रूपान्तरण गरी टिकट मूल्य २ हजार पुर्याएपछि क्यान विवादमा तानिएको हो ।
आज अपराह्न ४ बजे हुने क्वालिफायर–२ मा सुदूरपश्चिम रोयल्ससँग पराजित विराटनगर किंग्स र इलिमिनेटर विजेता लुम्बिनी लायन्स फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दै छन्। तर खेलअघि नै टिकट किन्न पुगेका दर्शकहरूबीच असन्तुष्टि फैलिएको छ।
सामान्यतया ५ सय रुपैयाँमा उपलब्ध हुने टिकट लिग चरण सकिएपछि १ हजार रुपैयाँ तोकिएको थियो। प्लेअफ र फाइनलका लागि क्यानले प्रिमियम टिकट २ हजार रुपैयाँ तोकेको जानकारी सार्वजनिक गरेको भए पनि आजको खेलमा जनरल जोनकै केही भागलाई अचानक ‘प्रिमियम’ मा रूपान्तरण गरी २ हजार असुलिएको भेटिएको छ।
पहिलो क्वालिफायर र इलिमिनेटरमा सोही जोनका टिकट १ हजार रुपैयाँमै बिक्री भएको तथ्य बाहिरिएपछि दर्शकहरूले क्यानमाथि मनपरी मूल्यवृद्धि गरेको आरोप लगाउँदै सामाजिक सञ्जालमा कडा आलोचना गरिरहेका छन्।










प्रतिक्रिया दिनुहोस्