सभामुख देवराज घिमिरेले सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान नगरेको विषयमा कडा आपत्ति जनाएका छन्। आइतबार संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिनिधि सभा नचले पनि राष्ट्रिय सभालाई सक्रिय राख्न सुझाव दिएकोमा सरकार गम्भीर नभएको उल्लेख गरे।
सभामुख घिमिरेले भने, “हामीले अधिवेशन बोलाउन माग गर्दा पनि राष्ट्रिय सभाको बैठक आह्वान गरिएको छैन। त्यो त स्थायी प्रकृतिको संस्था हो, त्यसलाई संचालन गर्ने निश्चित प्रक्रिया आजकै दिन टुंगो लगाउनुपर्छ।”
उनका अनुसार संसदका कर्मचारीहरूको क्षमता विकास, कार्य सम्पन्नताको स्पष्टता र व्यवस्थागत सुधारका लागि संसद एकेडेमी स्थापना अबको आवश्यकता भएको बताए।
साथै, २०५८ सालअघि निजामती सेवाले प्रमुख भूमिका खेलेको परम्परा अझै कायम रहँदा संसद सेवाको विशिष्टता र पहिचान स्पष्ट हुन नसकेको उनले टिप्पणी गरे।
कार्यक्रममा उनले संसदलाई देशको वर्तमान आवश्यकता अनुरूप प्रभावकारी ढंगले अघि बढाउनु र बनेका कानुन कार्यान्वयन गराउन सरकारलाई बाध्य बनाउनु आजको मुख्य चुनौती भएको बताए। यसका साथै, संसद सचिवालयका पदाधिकारी नियुक्तिका विषयमा पनि गम्भीर छलफल आवश्यक रहेको उनको भनाइ थियो।








प्रतिक्रिया दिनुहोस्