images
images

प्रतिनिधिसभा चुनावको तयारी तीव्र, आयोगले समानुपातिक कार्यक्रम सुरु

काठमाडौँ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आयोगले सम्पूर्ण तयारीलाई तीव्र पारेको छ। निर्वाचन अब ८८ दिन मात्र बाँकी रहँदा आयोग तथा राजनीतिक दलहरू दुबै पक्षबाट आवश्यक प्रक्रिया अघि बढाइएको छ। आयोगले आजबाट समानुपातिक निर्वाचन प्रणालीसम्बन्धी औपचारिक कार्यक्रम सञ्चालन सुरु गरेको छ। सो अनुसार आज बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म राजनीतिक दलहरूले समानुपातिकतर्फको आवेदन पेस गर्न पाउने व्यवस्था मिलाइएको छ। आयोगका अनुसार प्राप्त आवेदनहरूको आधिकारिक सूची यही मङ्सिर २४ गते सार्वजनिक गरिनेछ।

समानुपातिक निर्वाचनतर्फ उम्मेदवार सूचीका लागि पुस १३ र १४ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म बन्दसूची पेस गर्न दलहरूलाई समय निर्धारण गरिएको छ। यसपछि आवश्यक प्रमाणीकरण र छानबिन प्रक्रिया पूरा गरी माघ ३० गते अन्तिम बन्दसूची प्रकाशित गरिने कार्यक्रम तय गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए। नेपालको २७५ सदस्यीय प्रतिनिधिसभामा ११० सदस्य समानुपातिक प्रतिनिधित्व प्रणालीमार्फत चयन हुनेछन्। त्यसैका लागि दलहरूले उम्मेदवार छनोट, सामाजिक समावेशीकरणको अनुपात मिलान र आवश्यक आन्तरिक तयारीलाई तेज बनाएका छन्।

यता प्रत्यक्षतर्फ का कार्यक्रमहरू पनि समानान्तर रूपमा अघि बढाइएका छन्। सोअनुसार आगामी माघ ६ गते उम्मेदवारको मनोनयन दर्ता गरिनेछ। मनोनयन दर्ता सम्पन्न भएसँगै त्यही दिन प्रारम्भिक उम्मेदवार सूची सार्वजनिक गरिने कार्यक्रम रहेको छ।

उम्मेदवारीविरुद्ध उजुरी दिन माघ ७ गते समय दिइनेछ। उजुरीको छानबिन र आवश्यक कार्यवाहीपछि माघ ८ गते आधिकारिक नामावली प्रकाशित गरिनेछ। त्यसपछि माघ ९ गते अन्तिम चरणमा उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्ने व्यवस्था गरिएको छ। सोही दिन अन्तिम नामावली सार्वजनिक गर्दै उम्मेदवारहरूलाई चुनाव चिन्ह प्रदान गरिनेछ।

चुनाव मिति नजिकिँदै जाँदा दलहरू आन्तरिक समायोजन, गठबन्धन रणनीति र उम्मेदवार छानोट प्रक्रियामा जुटिरहेका छन्। आयोगले निर्वाचनको व्यवस्थापन, सुरक्षा समन्वय, मतदाता शिक्षादेखि आवश्यक जनशक्ति परिचालनसम्मका कामलाई तीव्र बनाएको बताएको छ। आगामी केही दिनभित्र देशभरि निर्वाचनका सम्पूर्ण तयारी थप गतिशील रूपमा अघि बढ्ने आयोगको तयारीमा देखिएको छ।

प्रतिक्रिया दिनुहोस्