भक्तपुर । देशका व्यवसायीहरुले नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा महासंघका भावी अध्यक्ष अन्जन श्रेष्ठको नेतृत्वमा नयाँ प्रकारको अभियान‘भावी अध्यक्षसँग हाइकिङ’ सुरु गरेका छन्। अनौपचारिक वातावरणमा व्यवसायीका मुद्दा, समस्या सुन्ने, आपसी सहकार्य र संवादलाई बलियो बनाउने तथा आन्तरिक पर्यटन प्रवर्द्धनलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउने उद्देश्यले हाइकिङ अभियान प्रारम्भ गरिएको हो।
शनिबारको पहिलो हाइकिङ यात्रा सूर्य विनायकदेखि ऐतिहासिक रानीकोटसम्म सम्पन्न भयो। घना हरियाली, खुला आकाश र काठमाडौं उपत्यकाको मनमोहक दृश्यसँगै सम्पन्न यो यात्रा सहभागी व्यवसायीका लागि केवल मनोरञ्जन मात्र नभई प्रकृतिसँग नजिकिने, स्वास्थ्यप्रति सचेत बन्ने, र आपसी सम्बन्ध गाढा पार्ने अवसर बनेको थियो।
व्यवसायीहरूका अनुसार हिँडाइका बीचमा गरिएको स्वतन्त्र संवादले नीति निर्माणदेखि लगानी वातावरण, उद्योग-व्यवसायका चुनौती, नेतृत्वको आवश्यकता र सम्भावित समाधानबारे नयाँ ऊर्जा, आशा र विश्वासनिर्माण गरेको छ। “हामीले भोगिरहेका समस्याहरू खुला वातावरणमा, खुलेर राख्न पाउनु एउटा स्वतन्त्रता हो,” उनीहरूले बताए।
महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले हाइकिङ अभियान सुरु गर्नुका पछाडि रहेको गहिरो दृष्टि प्रष्ट पार्दै भन्नुभयो “देशका समस्या बुझ्न देश दर्शन आवश्यक छ। प्रकृतिसँग हिँड्दै–बुझ्दै जाने क्रममा व्यवसायीका वास्तविक चुनौती, सम्भावना र भावी दिशाबारे वास्तविक अनुभूति हुन्छ। आन्तरिक पर्यटनको प्रवर्द्धन, स्वस्थ जीवनशैली र मित्रता यी सबैलाई एकैसाथ अघि बढाउन हाइकिङ अभियान उपयुक्त माध्यम बनेको छ।” उहाँले आगामी कार्यकालमा नेपाल उद्योग वाणिज्य महासंघले आन्तरिक अर्थतन्त्रलाई मजबुत बनाउन नयाँ सोच, नयाँ कार्यशैली, र साझेदारीमा आधारित अभियान अघि सारिने स्पष्ट दृष्टिकोण प्रस्तुत गर्नुभयो।

यसैबीच, नेपाल उद्योग बाणिज्य महासंघको स्थल यातायात तथा पारवहन समितिको सभापतिमा कार्यकारिणी सदस्य शिवप्रसाद घिमिरेले हाइकिङ अभियानले व्यवसायीबीच अनौपचारिक संवाद संस्कृतिको नयाँ अभ्यास सुरु गरेको बताउनुभयो। उहाँकै संयोजनमा सम्पन्न पहिलो यात्रा अत्यन्तै व्यवस्थित, प्रेरणादायी र सफल भएको सहभागीहरूको प्रतिक्रिया छ।
नेपाल कुचो संघका अध्यक्ष राजकुमार कार्कीले यो यात्रालाई “हरेक पाइला देश दर्शन, हरेक दृश्य प्रेरणा” का रूपमा लिनुपर्ने बताउनुभयो। उहाँका अनुसार वरिष्ठ उपाध्यक्षको नेतृत्वमा सम्भव भएसम्म हरेक शनिबार हाइकिङ गरिने र पहिलो चरणमा काठमाडौं उपत्यकाभित्रका सुन्दर गन्तव्यहरू रोजिने, त्यसपछि उपत्यकाबाहिरका ऐतिहासिक-पर्यटनिय स्थानसमेत अभियानमा समेटिनेछ।
शनिबार सम्पन्न पहिलो यात्रामा मुलुकका प्रतिष्ठित व्यवसायी, विभिन्न वस्तुगत संघ–संस्थाका अध्यक्षहरू तथा युवा उद्यमीहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो। हरेक सहभागीले हाइकिङ केवल शारीरिक गतिविधि मात्र नभई व्यवसायी समुदायलाई एकजुट बनाउने, नयाँ सोच विकास गर्ने र आन्तरिक पर्यटनलाई आर्थिक सबलताको आधार बनाउने अभियानको सुरुवात भएको मूल्यांकन गरेका छन्।
यसरी, ‘भावी अध्यक्षसँग हाइकिङ’ अभियानले नेतृत्व, स्वास्थ्य, पर्यटन, संवाद र देश दर्शन यी पाँच आयामलाई एकै स्थानमा उभ्याउँदै व्यवसायी समुदायलाई नयाँ प्रेरणा र साझा दिशातर्फ अघि बढाएको छ।














प्रतिक्रिया दिनुहोस्