काठमाण्डौ – नेपालको प्रहरी तथ्याङ्कले महिलामाथि हुने यौन हिंसामा अत्यधिक हिस्सा आफन्तकै संलग्नता रहेको देखाएको छ। महिला हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत आज सार्वजनिक गरिएको नेपाल प्रहरीको वार्षिक तथ्यपत्रअनुसार ९१ प्रतिशत यौनजन्य हिंसा पीडितकै आफन्त वा नातेदारबाट हुने गरेको पाइएको छ।
तथ्यपत्र सार्वजनिक कार्यक्रममा प्रहरी अपराध अनुसन्धान विभागकी उपरीक्षक बसुन्धरा खड्काले घरेलु हिंसा भयावह रूपमा बढिरहेको भन्दै परिवारभित्रै सुधार आवश्यक रहेको बताइन्। उनका अनुसार घरायसी वातावरण सुरक्षित नहुँदा महिलामाथिको हिंसा थप जटिल बन्दै गएको छ।
यही कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले हिंसासम्बन्धी उजुरी दर्ता हुने क्रम बढे पनि अपराध रोकथामको गति अपर्याप्त देखिएको बताए। उनले शिक्षा प्रणालीमै सभ्यताको पाठ्य सामग्री समावेश गरी दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकता औँल्याए।
स्वास्थ्य सेवा विभागकी उपसचिव कविता अर्यालले महिला हिंसा कुनै प्रदेश वा उमेर समूहमा सीमित नरहेको उल्लेख गर्दै नातागोताबाट नै हिंसा हुनु गम्भीर चुनौती भएको बताइन्। उनका अनुसार पीडितमध्ये २८ प्रतिशत महिलाले मात्र विद्युतीय वा प्रत्यक्ष रूपमा मद्दत माग्न अगाडि आउने गरेका छन्, बाँकी घटना समाजमै लुकी–छिपी रहने भएकाले स्थिति अझै डरलाग्दो छ।










प्रतिक्रिया दिनुहोस्