images
images

एनपिएलमा काठमाडौँले निकाल्यो तेस्रो जित, चितवन ५३ रनले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौँ गोर्खाजले प्रभावशाली प्रदर्शन गर्दै चितवन राइनोजलाई ५३ रनले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा काठमाडौँले तेस्रो जित हात पारेको हो।

पहिले ब्याटिङ गरेको काठमाडौँ १९.४ ओभरमा अलआउट हुँदै १४२ रनमा रोकिएको थियो। टोलीका लागि जोन सिम्पसन उत्कृष्ट फर्ममा रहे। उनले २०० भन्दा बढीको स्ट्राइक रेटमा ३ चौका र ५ छक्का प्रहार गर्दै ६० रनको योगदान दिए। त्यसैगरी मिलिन्द कुमारले ३८ रन जोडे र सिम्पसनसँग मिलेर ९८ रनको महत्वपूर्ण साझेदारी गरे। अन्यतर्फ बेन चार्ल्सवर्थ (१३), आकाश त्रिपाठी (४), राशिद खान (६) र मोहमद आदिल आलम (८) ठूलो स्कोर बनाउन सकेनन्।

चितवनका लागि सोहेल तनवीर बलिङतर्फ आकर्षण बने। उनले एकै ओभरमा दुई विकेटसहित कुल चार विकेट लिए र ४ ओभरमा २५ रन मात्र खर्चे। त्यसैगरी सञ्जित कुमारले २ र कमल ऐरी तथा रवि बोपाराले एक–एक विकेट लिए।

१४३ रनको लक्ष्य पछ्याउन उतरेको चितवन १७.१ ओभरमै ८९ रनमा समेटियो। टोलीका लागि देव खनाल र रवि बोपाराले समान २१–२१ रन जोडे भने सोहेल तनवीरले १८ रनको योगदान दिए। अन्य खेलाडी दोहोरो अंकमा पुग्न नसक्दा चितवनको पारी कमजोर रह्यो।

काठमाडौँका लागि राशिद खानले ३ विकेट लिए भने कप्तान करण केसी, मिलिन्द कुमार र दीपेश कँडेलले समान २–२ विकेट हात पारे। सन्तोष यादवले पनि १ विकेट आफ्नो नाममा थपे।

यो जितसँगै काठमाडौँले लिगमा ३ जित र २ हारको नतिजा हासिल गरेको छ भने चितवनले २ जित र २ हारको अवस्था बनाएको छ।

प्रतिक्रिया दिनुहोस्