दोस्रो संस्करणको नेपाल प्रीमियर लीग (एनपीएल–२०२५) अन्तर्गत आज मंसिर १० गते बुधवार विराटनगर किङ्स तथा चितवन राइनोजबीच खेल हुँदैछ । आज दिउँसो ४ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रारम्भ हुने यो खेलमा दुबै टीम स्पष्ट जीतका लागि मैदानमा उत्रिने छन् ।
विराटनगर किङ्सका कप्तान सन्दीप लामिछाने तथा चितवन राइनोजका कप्तान कुशल मल्ल आफ्नो टीमलाई जीत दिलाउने लक्ष्यसहित मैदानमा प्रस्तुत हुनेछन् । तीन खेल खेलिसकेको विराटनगरले लगातार जीत निकाल्दै अंकतालिकामा ६ अंक जोडेको छ भने दुई खेल मात्र खेलेको चितवनको दुई अंक मात्र छ ।
विराटनगरले हालसम्म हारको सामना गरेको छैन । अंक तालिकामा विराटनगर र सुदूरपश्चिमको समान अंक भए पनि रनरेटका आधारमा विराटनगर तेस्रो स्थानमा छ । चितवन तालिकाको पाँचौं स्थानमा रहेको छ ।
पहिलो खेलमा कर्णालीविरुद्ध चार विकेटको जीत निकालेको चितवन दोस्रो खेलमा लुम्बिनीसँग ६ विकेटले पराजित भएको थियो ।
एनपीएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किङ्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स गरि आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् ।









प्रतिक्रिया दिनुहोस्