images
images

आन्दोलनपछि जलेका सवारीसाधन बोलकबोलमार्फत बिक्रीको तयारी

जेन–जी प्रदर्शनका कारण काठमाडौँसहित देशभर ठूलो मात्रामा सरकारी तथा निजी सवारीसाधनमा क्षति पुगेको छ। काठमाडौँमा मात्रै १ हजारभन्दा बढी सरकारी सवारी जलेका छन्। सिंहदरबारभित्रका विभिन्न मन्त्रालयका ४४१ वटा चारपांग्रे र ६०१ भन्दा बढी दुईपांग्रे सवारीसाधन पूर्ण रूपमा नष्ट भएका छन्। त्यस्तै, प्रहरीका विभिन्न युनिटमा भएको आक्रमणमा थुप्रै प्रहरी सवारीसाधन पनि जलेका छन्। अन्य जिल्लाको विवरण भने अझै संकलन भइरहेको छ।

राष्ट्रिय योजना आयोगका सूचना अधिकारी दिवाकर लुइँटेलका अनुसार देशभरका क्षतिको विवरण संकलन गर्न आयोगले समिति गठन गरेको छ। भौतिक संरचना, भवन क्षति, सवारी क्षतिलगायत सबै विवरण जिल्लाबाट संकलन भइरहेको आयोगले जनाएको छ।

कसरी हुनेछ डढेका सवारीसाधनको व्यवस्थापन ?

सिंहदरबारभित्र जलेका सवारीसाधन संसद् भवन पछाडि संकलन गरिएको गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार यी सवारीसाधनलाई बोलकबोलमार्फत बिक्री गर्ने तयारी भइरहेको छ। तर कुन निकायले ठेक्का बोलकबोल गर्छ भन्ने निर्णय भने भइसकेको छैन।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलका अनुसार अधिकांश सवारीसाधन पूर्ण रूपमा जलेका भएकाले स्क्र्याबका रूपमा मात्र बिक्री गर्न सकिनेछ। जलेका सवारीबाट फेला पर्ने फलाम तथा केही सामग्री पुन: प्रयोगमा जानेछन्।

कवाड व्यवसायी समाजका अध्यक्ष रामकेवल गुप्ताका अनुसार पुरानो फलामको मूल्य प्रतिकिलो ४१ रुपैयाँ निर्धारण गरिएको छ। मन्त्रालय तथा कार्यालयहरूले जलेका सवारी हटाउन व्यवसायीलाई सम्पर्क गरिरहेका छन्। पुनर्प्रयोगयोग्य फलामलाई स्टिल तथा फलाम उद्योगमा पठाइनेछ।

ट्राफिक कारबाहीमा परेका सवारीसाधनको क्षति कसले बेहोर्ने ?

उपत्यका ट्राफिक महाशाखामा रहेका सबै सवारीसाधन जेन–जी आन्दोलनमा जले। ६० वटा दुईपांग्रे, २६ वटा चारपांग्रे, प्रहरी कर्मचारीका ९३ दुईपांग्रे र २ वटा चारपांग्रे सवारीसाधन पूर्ण रूपमा क्षतिग्रस्त भए। कारबाहीका लागि ट्राफिकले राखेका ३४० मोटरसाइकल तथा स्कुटर जलेका छन् भने ५२ हराएका छन्। त्यस्तै, कारबाहीमा ल्याइएका १६ वटा चारपांग्रे सवारीसाधन र महानगरपालिकाले उठाएका ३५ वटा मोटरसाइकल/स्कुटर पनि नष्ट भएका छन्।

ट्राफिक प्रमुख नवराज अधिकारीका अनुसार सामान्य अवस्थामा ट्राफिक कार्यालयले संरक्षणको जिम्मा लिन्छ। तर कार्यालय नै क्षतिग्रस्त भएकाले सवारी जोगाउन नसकिएको उनले बताए। “कसको क्षतिपूर्ति कसरी हुन्छ भन्नेबारे सरकारी निर्णय आउन बाँकी छ,” अधिकारीले भने। महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले नियम विपरीत पार्किङ गरेका सवारीसाधनको क्षतिपूर्ति महानगर जिम्मेवार नहुने बताए।

आन्दोलनपछि ५९१ हराएका दुईपांग्रे सवारीमध्ये ११० फेला

जेन–जी आन्दोलनपछि उपत्यकामा ५९१ दुईपांग्रे सवारीसाधन हराएको उजुरी परेको थियो। तीमध्ये ११० वटा फेला परिसकेका छन्। बिहीबार मात्र ५१ वटा मोटरसाइकल तथा स्कुटर सवारीधनीलाई बुझाइयो। कात्तिक र असोजमा मात्र ५९२ भन्दा बढी हराएको उजुरी दर्ता भएको थियो। केही सवारी नक्कली नम्बर प्लेटसहित भेटिएका छन्। चोरीमा संलग्न १९ जना नियन्त्रणमा लिइएका छन्।

उपत्यकामा मोटरसाइकल चोरीको दर तीव्र बढ्दै गएको ट्राफिक महाशाखाले बताएको छ। महाशाखाका अनुसार मकवानपुरका संवीरे रुम्बा नामका व्यक्तिले २०० भन्दा बढी मोटरसाइकल चोरी गरेको तथ्यसमेत खुलेको छ।

प्रतिक्रिया दिनुहोस्