images
images

काठमाण्डुलाई ५ विकेटले हराउँदै विराटनगरको दोहोरो जीत

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किङ्ग्सले लगातार दोस्रो जित दर्ता गरेको छ। आज भएको खेलमा विराटनगरले काठमाण्डु गुर्खाजलाई ५ विकेटले पराजित गर्यो। काठमाण्डुले दिएको १३५ रनको लक्ष्य विराटनगरले १७ ओभर १ बलमै ५ विकेट गुमाउँदै पूरा गर्यो। विराटनगरका जर्ज मुन्से ३६, मार्टिन गुप्टिल २५ र नरेन भट्ट २४ रनका साथ उत्कृष्ट रहे। काठमाण्डुका शाहब आलमले २ विकेट लिए भने करन केसी, गेर्हार्ड इरास्मस र सन्तोष यादवले समान १–१ विकेट हात पारे।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाण्डु ६ विकेट गुमाउँदै १३४ रनमा रोकिएको थियो। काठमाण्डुका आदिल आलम अविजित ३८ रनका साथ शीर्ष स्कोरर रहे भने वेन चाल्र्सवर्थले ३२ रनको योगदान दिए। विराटनगरका मर्चेन्ट डे लाङले २ विकेट झारे भने सन्दीप लामिछाने, शुभम रञ्जिते र सूर्य तामाङले समान १–१ विकेट लिए।

उद्घाटन खेलमा काठमाण्डुले साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले हराएको थियो तर दोस्रो खेलमा सुदूरपश्चिमसँग पराजित भएको थियो। विराटनगरको पनि आज दोस्रो खेल थियो। पहिलो खेलमा विराटनगरले पोखरालाई सहजै पराजित गरेको थियो।

दोस्रो संस्करणको एनपीएलमा सुदूरपश्चिम, पोखरा, विराटनगर, काठमाडौँ, लुम्बिनी, चितवन, जनकपुर र कर्णाली गरी ८ टोलीको सहभागिता छ। मङ्सिर १ गतेदेखि शुरु भएको प्रतियोगिता मङ्सिर २७ गतेसम्म चल्नेछ।

प्रतिक्रिया दिनुहोस्