काठमाडौँ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने आज अन्तिम दिन परेको छ। यसअघि कात्तिक मसान्तसम्म सीमित दर्ता अवधि निर्वाचन आयोगले थप गर्दै आजसम्मलाई अन्तिम मिति कायम गरेको हो। आयोगले राष्ट्रिय परिचयपत्र नम्बर भएका नागरिकका लागि अनलाइनमार्फत नै नाम दर्ता गर्ने सुविधा उपलब्ध गराएको छ। राष्ट्रिय परिचयपत्रसँग जैविक तथ्याङ्क (बायोमेट्रिक) लिंक गरेपछि मात्र मतदाता नामावलीमा नाम समावेश हुने व्यवस्था छ। आयोगका अनुसार हालसम्म सात लाखभन्दा बढी नयाँ मतदाता नामावलीमा थपिएका छन्।
यसैबेला आयोगले मतदाता नामावलीमा भएका त्रुटि सच्याउने उद्देश्यले मंसिर २१ देखि २७ गतेसम्म विशेष समय तोकेको छ। यस अवधिमा नामावलीमा त्रुटि परेका विवरण सच्याउन, कसैले झुटा विवरणमार्फत नाम समावेश गराएमा विरोधमा उजुरी दर्ता गर्न, एउटै व्यक्तिको नाम विभिन्न स्थानमा सूचीकृत भएमा एक स्थानमा मात्र कायम गराउन तथा मृत्यु भइसकेका वा नागरिकता त्यागेका व्यक्तिको नाम हटाउन निवेदन दिन सकिनेछ।
यस्ता निवेदन, उजुरी तथा सूचनाहरू आयोगको वेबसाइटमार्फत वा नजिकको प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा दिन मिल्ने व्यवस्था छ। प्राप्त गुनासा तथा उजुरीको छानबिन गरी पुस १५ गते अन्तिम मतदाता नामावली सम्बन्धित निर्वाचन कार्यालय तथा वडा कार्यालयमा प्रकाशित गरिने आयोगले जनाएको छ।










प्रतिक्रिया दिनुहोस्