काठमाडौँ – कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका खेलमा हारजितमा प्रभाव पार्न आर्थिक प्रलोभन देखाएको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत, हरियाणाका २८ वर्षीय दिलप्रित सिंह र बर्दियाको बारबर्दिया नगरपालिका–७ का २४ वर्षीय रेविकासिंह ठकुरी रहेका छन्। ठकुरी भारतको चण्डीगढमा बस्दै आएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनीहरूले एनपीएलमा सहभागी खेलाडीलाई स्पोन्सरशिपको नाममा सामाजिक सञ्जाल—विशेष गरी ह्वाट्सएप र इन्स्टाग्राम—मार्फत सम्पर्क गरी सट्टाबाजीमा सहभागी गराउन प्रयास गरेका थिए। उक्त गतिविधिबारे प्राप्त सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई लाजिम्पाटबाट नियन्त्रणमा लिएको हो।
पक्राउ परेका दुवै जनालाई हिजै सार्वजनिक गरिएको र थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा जिम्मा लगाइएको कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।















प्रतिक्रिया दिनुहोस्