कर्णाली याक्ससँगको कडा प्रतिस्पर्धामा चितवन राइनोज विजयी भएको छ। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा चितवनले चार विकेटको जित दर्ता गरेको हो। कर्णालीले दिएको १६७ रनको लक्ष्य चितवनले १९.१ ओभरमा छ विकेट गुमाउँदै पूरा गर्दै अघिल्लो सिजनको दुई हारको बदला चुकाएको छ।
चितवनका रवि बोपाराले उत्कृष्ट प्रदर्शन गर्दै ३५ बलमा तीन चौका र तीन छक्कासहित ५२ रनको अर्धशतक बनाए। सैफ जैबले १६ बलमा दुई चौका र चार छक्का प्रहार गर्दै ३८ रन जोडे भने ओपनर दिपक बोहोराले ३६ बलमा ६ चौका र एक छक्का सहयोगमा ४२ रन बटुले। कप्तान कुशल मल्लले १५ बलमा दुई छक्का प्रहार गर्दै २० रन बनाए। अन्यतर्फ, डेबिड मलान ६ रनमा आउट भए भने देव खनाल २ रनमा रनआउट भए। अर्जुन साउद (२) र सोहेल तनविर (६) अविजित रहे। अन्तिम ओभरको पहिलो बलमै रवि बोपाराले छक्का प्रहार गर्दै चितवनलाई सहज जित दिलाए।
कर्णालीका कप्तान सोमपाल कामीले दुई विकेट लिँदा युनिससिंह ठकुरी र युवराज खत्रीले एक–एक विकेट हात पारे।यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको कर्णालीले तीन विकेटको क्षतिमा १६६ रन बनाएको थियो। ओपनर प्रियांक पञ्चलले धमाकेदार पारी खेल्दै ४८ बलमा सात चौका र छ छक्कासहित ९० रन जोडे। उनी रवि बोपाराको बलमा देव खनालको हातबाट क्याच आउट भए।
मार्क वाटले १६ रन, म्याक्स ओउडले २ रन बनाए। अन्त्यतिर पवन सरार्फले १६ बलमा तीन छक्का र एक चौकासहित २७ रनको अविजित योगदान दिए भने नजिबुल्लाह जड्रान ४ रनमा नटआउट रहे। चितवनका लागि सोहेल तनविर, सैफ जैब र रवि बोपाराले एक–एक विकेट लिए। बल र ब्याट दुवै विभागमा चम्किएका रवि बोपारा प्लेयर अफ द म्याच चुनिए।










प्रतिक्रिया दिनुहोस्