सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनअन्तर्गत मंगलबार हुने पहिलो खेलमा कर्णाली याक्स र चितवन राइनोज आमनेसामने हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ११ः४५ बजे सुरु हुने खेलमा अघिल्लो सिजनमा कर्णालीसँग दुई पटक पराजित भएको चितवन यसपटक बदला लिने मनोबलसहित उत्रने तयारीमा छ।
पहिलो सिजनको लिग चरणमै कर्णालीले एक बल बाँकी रहँदा चितवनलाई ६ विकेटले हराएको थियो। त्यसपछि एलिमिनेटरमा पनि कर्णालीले २१ रनले पराजित गर्दै चितवनलाई प्लेअफबाट बाहिर पुर्याएको थियो। गत सिजन दुवै टोलीले सात खेलमध्ये चारमा जित हात पारे पनि नेट रनरेटका आधारमा कर्णाली तेस्रो र चितवन चौथो स्थानमा रहेर प्लेअफ पुगेका थिए। यस सिजन कर्णालीले सोमपाल कामीको कप्तानीमा सन्तुलित टोलीसहित सुरुवातदेखि नै बलियो प्रदर्शन गर्ने लक्ष्य बनाएको छ।
अष्ट्रेलियाका विलियम बसिस्टो, स्कटल्यान्डका मार्क वाट, आयरल्यान्डका म्याक्स ओ’डाउड, अफगानिस्तानका नजिबुल्लाह जड्रान, भारतका प्रियांक पञ्चाल र दक्षिण अफ्रिकाका जयकिशन कोल्सावाला जस्ता विदेशी खेलाडीले टोलीलाई मजबुत बनाएका छन्। चितवनले पनि कुशल मल्लको कप्तानीमा अनुभवी विदेशी खेलाडीहरू समावेश गरेको छ। इंग्ल्यान्डका रवि बोपारा र डाविड मलान, पाकिस्तानका सोहेल तनविर, अफगानिस्तानका सैफ जैव र दक्षिण अफ्रिकाका अल्पेश रमजानी चितवनका मुख्य खेलाडीका रूपमा रहनेछन्।
उनीहरूको उपस्थितिले ब्याटिङ र बलिङ दुवै विभागमा गहिराइ ल्याउने अपेक्षा गरिएको छ। मंगलबार दिउँसो काठमाडौंको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्रिवि मैदानको पिच सामान्यतया ब्याट्सम्यानअनुकूल मानिए पनि मंसिरको चिसोले पिचमा कडापन र चिसोपन बढाउन सक्छ। यस्तो अवस्थामा प्रारम्भिक बलरलाई केही फाइदा पुग्ने भएकाले टस जित्ने टोलीले पहिले ब्याटिङ गर्ने सम्भावना बढी देखिन्छ।










प्रतिक्रिया दिनुहोस्