images
images

पेट्रोलमा २ र डिजेल–मट्टितेलमा ३ रुपैयाँको वृद्धि, नयाँ मूल्य लागू

काठमाण्डौ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगम सञ्चालक समितिको बैठकले मध्यरातिदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ बढाउने निर्णय गरेको हो।

निगमले भारतीय आयल कर्पोरेसनबाट प्राप्त नवीनतम मूल्यसूचीमा पेट्रोल प्रतिलिटर २ रुपैयाँ ५४ पैसा र डिजेल प्रतिलिटर ६ रुपैयाँ ५३ पैसा बढेर आएको जानकारी दिएको छ। उपभोक्ताको हितलाई ध्यानमा राख्दै त्यसअनुसार पूर्ण दर वृद्धि नगरी सीमित मात्रामा मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ।

मूल्य समायोजनपछि पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा पेट्रोल प्रतिलिटर १५८ रुपैयाँ ५० पैसा तथा डिजेल/मट्टितेल प्रतिलिटर १४४ रुपैयाँ ५० पैसा पुगेको छ। दोस्रो वर्गका सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १६० रुपैयाँ तथा डिजेल/मट्टितेल प्रतिलिटर १४६ रुपैयाँ पर्नेछ। तेस्रो वर्गमा पर्ने काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १६१ रुपैयाँ र डिजेल/मट्टितेल प्रतिलिटर १४७ रुपैयाँ कायम गरिएको छ। खाना पकाउने ग्यासको मूल्य भने यथावत् राखिएको छ।

प्रतिक्रिया दिनुहोस्