काठमाण्डौ – सरकारी ऋण संकलनका उद्देश्यले सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले दुई प्रकारका बचतपत्र बिक्री खुला गरेको छ। कार्यालयले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ‘नागरिक बचतपत्र–२०८७’ र ५० करोड रुपैयाँ बराबरको ‘वैदेशिक रोजगार बचतपत्र–२०८७’ निष्कासन गरेको हो। दुवै बचतपत्र पाँच वर्ष अवधिका हुन्। खरिदका लागि मङ्सिर २५ गतेसम्म आवेदन दिन सकिनेछ भने मङ्सिर २८ गते निष्कासन प्रक्रिया पूरा हुनेछ। नागरिक बचतपत्रमा वार्षिक ६.५% र वैदेशिक रोजगार बचतपत्रमा ७.५% ब्याजदर लागू हुनेछ।
न्यूनतम १० हजार रुपैयाँदेखि अधिकतम निष्कासित कुल रकमभित्र रहेर १० हजारले भाग जाने गरी बचतपत्र खरिद गर्न सकिनेछ। नागरिक बचतपत्र नेपाली नागरिक तथा गैरआवासीय नेपालीले खरिद गर्न सक्नेछन्। वैदेशिक रोजगार बचतपत्र भने विदेशमा रोजगारीमा रहेका वा फर्किएको ६ महिना पुगेका नेपाली, गैरआवासीय नेपाली तथा उनीहरूको परिवारका सदस्यले पनि खरिद गर्न पाउने व्यवस्था गरिएको छ।
बचतपत्र खरिदका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सञ्चालन गर्दै आएको डोम्स प्रणाली तथा इन्भेस्टर पोर्टल प्रयोग गर्न सकिनेछ भन्ने जानकारी उपसचिव प्रकाश पुडासैनीले दिए। उनका अनुसार बचतपत्र सुरक्षित लगानीको माध्यम हो, जसमा सरकारले मूलधनको पूर्ण सुनिश्चितता प्रदान गर्छ। साथै, ब्याज रकम प्रत्येक छ महिनामा खरिदकर्ताको बैंक खातामा स्वतः जम्मा हुन्छ र आवश्यकता परे यसलाई बैंक वा वित्तीय संस्थामा धितो राखी कर्जा लिन पनि सकिन्छ।














प्रतिक्रिया दिनुहोस्