सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका लागि सबै तयारी पूरा भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। शनिबार आयोजित पत्रकार सम्मेलनमा क्यानका पदाधिकारीहरूले यसपटकको सिजनलाई अझ व्यवस्थित र रोमाञ्चक बनाउने तयारी पुरा भएको जानकारी दिए। क्यानका सचिव पारस खड्काका अनुसार यो वर्षको एनपीएल पहिलाको तुलनामा धेरै परिवर्तन र सुधारसहित हुनेछ।
उनले नयाँ प्यारापिटसहित फ्लड लाइटमा हुने खेलले प्रतियोगितालाई थप आकर्षक बनाउने दाबी गरे। ‘हामी सबै फरक पृष्ठभूमिबाट आएका भए पनि एउटै उद्देश्य– एनपीएल सफल बनाउने हो। यसपटकको संस्करण अवश्यै फरक हुनेछ,’ उनले भने। खड्काले दर्शक सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राखेर व्यवस्थापन गरिएको उल्लेख गर्दै पाँच गेटमार्फत मात्र टिकटधारी दर्शकलाई प्रवेश अनुमति हुने बताए। टिकट नभएकालाई टेलिभिजन वा ओटीटी प्लेटफर्मबाट हेर्न आग्रह गरे।
उनले करिब एक महिना चल्ने एनपीएलको समयमा उपत्यकाभित्र कुनै आन्दोलनका कार्यक्रम नगर्न तथा आवश्यक परे उपत्यका बाहिर गर्न अनुरोध पनि गरे। यता, क्यानका अध्यक्ष चतुर बहादुर चन्दले पनि दोस्रो संस्करणका तयारी पूरा भएको बताउँदै पहिलोभन्दा अझ उत्कृष्ट व्यवस्था मिलाइएको जानकारी दिए।














प्रतिक्रिया दिनुहोस्