नेपाल क्रिकेट संघ (क्यान)ले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि टिकट दर सार्वजनिक गरेको छ। क्यानले हिजो जारी गरेको प्रेस विज्ञप्तिमार्फत आगामी मंसिर १ देखि २७ गतेसम्म कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने लिगका लागि टिकट दर, बिक्री प्रणाली र पाससम्बन्धी विस्तृत जानकारी सार्वजनिक गरेको हो।
क्यानका अनुसार उद्घाटन खेल तथा शनिबार हुने खेल हेर्न चाहने दर्शकका लागि साधारण टिकट ५ सय रुपैयाँ तोकिएको छ भने प्रिमियम अर्थात् भीआईपी टिकट १५ सय रुपैयाँ तोकिएको छ। सामान्य समूह चरणका खेलमा पनि साधारण तर्फ ५ सय रुपैयाँकै दर कायम गरिएको छ, तर भीआईपी टिकट १ हजार रुपैयाँमा उपलब्ध हुनेछ।
लिगको अन्त्यतिर हुने प्लेअफ तथा फाइनल खेलका लागि भने टिकट दर केही बढ्नेछ। यी चरणका खेलहरूका लागि साधारण दर्शकले १ हजार रुपैयाँ र भीआईपी दर्शकले २ हजार रुपैयाँ तिर्नुपर्ने क्यानले जनाएको छ। दर्शकलाई सहज बनाउन सम्पूर्ण प्रतियोगिता अवधिभरका लागि मान्य सिजन–पास पनि उपलब्ध गराइनेछ, जसको मूल्य १५ हजार रुपैयाँ तोकिएको छ।
क्यानले डिजिटल माध्यममार्फत टिकट बिक्री प्रक्रिया सहज बनाइएको उल्लेख गरेको छ। दर्शकले खल्ती र आईएमई पे जस्ता इलेक्ट्रोनिक भुक्तानी एपमार्फत टिकट खरिद गर्न सक्नेछन्। डिजिटल टिकट प्रणाली लागू भएपछि टिकट किनमेलमा हुने भीड तथा झन्झट कम हुने अपेक्षा क्यानले गरेको छ।
नेपाल प्रिमियर लिग नेपाल क्रिकेटको महत्वपूर्ण फ्र्यान्चाइजी प्रतियोगिता मानिन्छ। कीर्तिपुरमा लामो समयपछि पुनः आयोजना हुन लागेको एनपीएलले घरेलु क्रिकेटको लोकप्रियता अर्को स्तरमा पुर्याउने विश्वास क्यानले विश्वास लिएको छ।














प्रतिक्रिया दिनुहोस्