images
images

नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै भीम रावल, छैटौँ वरियता दिइने

मातृभूमि जागरण अभियान, नेपालका संयोजक भीम रावल आगामी बुधबार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित हुने भएका छन्। काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजना हुने विशेष कार्यक्रममार्फत रावल नेकपामा प्रवेश गर्ने तयारीमा छन्।

नेकपा (एमाले) बाट निष्कासनमा परेपछि रावलले ‘मातृभूमि जागरण अभियान’ सञ्चालन गरेका थिए। एमालेले पूर्व नेताहरूलाई पार्टीमा फर्कन आह्वान गरे पनि रावलले सो प्रस्ताव अस्वीकार गरेका थिए।

गत आइतबार रावलले नेकपाका शीर्ष नेताहरूसँग भेटवार्ता गरेका थिए। सहभागी नेताहरूका अनुसार छलफल सकारात्मक रहेकाले एकता प्रक्रिया अघि बढाइएको हो।

सोही सहमति अनुसार, कात्तिक २६ गते ‘वृहत् पार्टी समायोजन कार्यक्रम’ आयोजना हुँदैछ, जसमा रावल औपचारिक रूपमा नेकपामा समाहित हुनेछन्। उक्त कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाललगायत शीर्ष नेताहरूको उपस्थितिमा सम्बोधन हुने कार्यक्रम तय भएको छ।

स्रोतका अनुसार, रावललाई पार्टीमा छैटौँ वरियतामा राख्ने सहमति गरिएको छ। प्रचण्ड, माधव नेपाल र आफूनिकट नेताहरूसँगको परामर्शपछि रावल एकता प्रक्रियामा सहभागी हुन तयार भएका हुन्।

प्रतिक्रिया दिनुहोस्