images
images

लिग–टूको अन्तिम खेलमा आज नेपाल र यूएई आमनेसामने

काठमाडौं – आईसीसी विश्वकप लिग–टूको त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाल आज घरेलु टोली संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे दुबईस्थित आईसीसी एकेडेमी ग्राउन्डमा सुरु हुनेछ।

लगातार तीन खेलमा हार बेहोरेको नेपालका लागि आजको खेल सान्त्वनास्वरूप जित निकाल्ने अवसर हुनेछ। यसअघि नेपालले यूएई र अमेरिकासँग भएका दुबै खेलमा एकपक्षीय हार व्यहोरेको थियो। अमेरिकासँगको तेस्रो खेलमा भने केही सुधारिएको प्रदर्शन देखाए पनि २७२ रनको लक्ष्य रक्षा गर्न नसक्दा नेपालले पराजय भोगेको थियो। लगातार हारका कारण नेपालको सिधै विश्वकप छनोटमा पुग्ने सम्भावना कठिन बन्दै गएको छ।

साथै, एकदिवसीय मान्यता जोगाइराख्नका लागि पनि टोलीले अब उत्कृष्ट प्रदर्शन गर्नुपर्ने दबाबमा छ। टी–२० क्रिकेटमा भने नेपालले राम्रो लय देखाएको छ। एसिया तथा इस्ट–एशिया प्यासिफिक छनोट जित्दै नेपालले सन् २०२६ को टी–२० विश्वकपमा स्थान सुरक्षित गरिसकेको छ। तर, एकदिवसीय प्रारूपमा टोलीको प्रदर्शन कमजोर रहँदै आएको छ।

सिरिजमा तीन खेलमा पराजित भएको नेपालले आज यूएईविरुद्ध सान्त्वना जितको खोजी गर्नेछ। त्यस्तै, यूएई पनि अघिल्लो खेलमा अमेरिकासँग २ सय ४३ रनको फराकिलो हार बेहोरेर कमजोर फर्ममा रहेको छ। हाल लिग–टू अंक तालिकामा नेपाल १९ खेलबाट १२ अंकसहित सातौं स्थानमा छ भने समान खेल खेलेको यूएई ८ अंकका साथ अन्तिम स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्