काठमाडौँ — सरकारले विभिन्न ११ देशमा कार्यरत नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ। सोमबार साँझ परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित राजदूतावासहरूमा पत्राचार गरी उनीहरूलाई नेपाल फर्कन निर्देशन गरिएको हो।
फिर्ता गराइएका राजदूतहरू चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रसिया, साउदी अरब, स्पेन, संयुक्त अधिराज्य (यूके), जापान र संयुक्त राज्य अमेरिका (यूएसए) का हुन्।
परराष्ट्र मन्त्रालयको पत्रमा भनिएको छ, “महामहिमज्यूलाई अर्को व्यवस्था नभएसम्मका लागि परराष्ट्र मन्त्रालयमा रही कामकाज गर्नेगरी नेपाल बोलाउने मिति २०८२ साल कार्तिक १७ गते प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री स्तरीय निर्णय भएको जानकारी गराउँदै आवश्यक कार्यार्थ अनुरोध छ।”
पत्रमा राजदूतहरूलाई यसअघि जारी हवाई टिकट नै प्रयोग गरी २०८२ कार्तिक २० गतेभित्र मन्त्रालयमा सम्पर्क गर्न आइपुग्न आग्रह गरिएको छ। मन्त्रालयको सामान्य प्रशासन महाशाखाको तर्फबाट महाशाखा प्रमुख सुरेन्द्रकुमार यादवले उक्त पत्रमा हस्ताक्षर गरेका छन्।
त्यसैगरी, राजदूतहरू फिर्ता भएपछि सम्बन्धित नियोगमा उपनियोग प्रमुखलाई कार्यवाहक राजदूतका रूपमा कामकाज सञ्चालन गर्न निर्देशन पनि पत्रमा उल्लेख गरिएको छ।
गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक नियुक्ति लिएका ११ राजदूतहरूलाई यही कात्तिक २० गतेभित्र फिर्ता बोलाउने निर्णय गरेको थियो। सरकारको उक्त निर्णय कानुनसम्मत नभएको भन्दै सर्वोच्च अदालतमा रिट परेको थियो।
उक्त मुद्दाको प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले आइतवार निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो। त्यसविपरीत सरकारले फिर्ता गर्न पत्र काटेको हो।














प्रतिक्रिया दिनुहोस्