images
images
images

नेपालको लगातार तेस्रो पराजय, अमेरिकासँग ४ विकेटले हार

काठमाडौँ — आइसीसी विश्वकप लिग–२ क्रिकेटमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ। शनिबार दुबईमा भएको खेलमा नेपाल अमेरिकासँग ४ विकेटले पराजित भएको हो। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २७१ रनको लक्ष्य प्रस्तुत गरेको थियो। नेपालको सुरुवात सन्तोषजनक रह्यो तर बीचक्रमका ब्याटरहरूले ठूला साझेदारी गर्न नसक्दा निर्धारित ओभर अघि नै टोली समेटियो।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ७५ रन बनाए भने करण केसीले आक्रामक ४९ रनको योगदान गरे। कुशल भुर्तेलले ४७, भीम सार्कीले ४३ र कप्तान रोहित पौडेलले ३६ रन जोडे। गुलशन झा ५ रनमा आउट भए भने आरिफ शेख र आशिफ शेख दुबै २–२ रनमा आउट भए। अमेरिकाका बलर हर्मित सिंहले ३ विकेट लिए।

जवाफमा अमेरिकाले ४९ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। उसका लागि सैतेजा मुक्कामल्लाले ७५, मिलन्द कुमारले ७० र शायन जहाँगीरले ३६ रनको योगदान गरे। कप्तान मोनांक पटेलले २१ रन जोडे। नेपालका बलर सन्दीप लामीछानेले सर्वाधिक ३ विकेट लिए। करण केसी, गुलशन झा र भीम सार्कीले तिन–तिन ओभरमा दबाब सिर्जना गर्ने प्रयास गरे पनि अमेरिकाका ब्याटरहरूले स्थिर साझेदारी बनाएर जित हात पारे।

यससँगै नेपालले लिग–२ मा लगातार तेस्रो खेलमा हार बेहोरेको छ। पहिले अमेरिकासँगै पहिलो खेलमा १०६ रनले र दोस्रो खेलमा युएईसँग ५ विकेटले पराजित भएको थियो। जितसँगै अमेरिकाले ३४ अंक जोड्दै शीर्ष स्थान बलियो बनाएको छ। नेपाल भने १९ खेलबाट १२ अंकसहित सातौँ स्थानमै सीमित छ।

प्रतिक्रिया दिनुहोस्