काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले खरीद गर्न नमान्दा लमजुङस्थित ५४ मेगावाट क्षमताको सुपर दोर्दी जलविद्युत् आयोजनाले क्षमताभन्दा निकै कम मात्रामा बिजुली उत्पादन गरिरहेको छ। आयोजनाका प्रबन्ध निर्देशक केशवबहादुर रायमाझीका अनुसार हाल ८ देखि १० मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको छ। उनले उद्योगहरूमा लाइन काटेर विद्युत् खपत घटेपछि प्राधिकरणले उत्पादन घटाउन निर्देशन दिएको बताउँदै त्यसअनुसार उत्पादन कटौती गरिएको जानकारी दिए।
डेडिकेटेड फिडर र ट्रंक लाइनमार्फत बिजुली उपभोग गर्दै आएका उद्योगहरूले बक्यौताबापतको रकम नतिरेको भन्दै प्राधिकरणले पछिल्ला दिनमा विभिन्न उद्योगहरूको लाइन काटेको छ। त्यसपछि प्राधिकरणले जलविद्युत् आयोजनाहरूलाई पनि आवश्यक मात्रामा मात्र उत्पादन गर्न निर्देशन दिएको सम्बन्धित परियोजनाका प्रवर्द्धकहरूले बताएका छन्।
प्राधिकरणले कात्तिक ४ गतेदेखि चरणबद्ध रूपमा २५ उद्योगहरूको लाइन काटेको हो। यी उद्योगहरूले जम्मा ५ अर्ब ४८ करोड ४५ लाख रुपैयाँ विद्युत् महसुल तिर्न बाँकी रहेको प्राधिकरणले दाबी गरेको छ। तर उद्योगीहरूले आफूहरूले उपभोग गरेको बिजुलीको प्रमाण प्राधिकरणले स्पष्ट गर्न नसकेको भन्दै बक्यौता रकम तिर्न अस्वीकार गर्दै आएका छन्।
सुपर दोर्दी परियोजना ‘कन्टिन्जेन्सी’ परियोजनाको सूचीमा परेका आयोजनामध्ये एक हो। यस वर्गका आयोजनाबाट प्राधिकरणले आवश्यक परेका बेला मात्रै विद्युत् खरीद गर्ने व्यवस्था गरेको छ। रायमाझीका अनुसार प्राधिकरणले सुपर दोर्दीलाई तीन वर्षदेखि नै सो वर्गमा राखेको हो। सम्झौताअनुसार पहिलो वर्ष ३३ प्रतिशत, दोस्रो वर्ष ४७ प्रतिशत र यस वर्ष ८० प्रतिशत बिजुली प्राधिकरणले खरीद गर्नुपर्ने भए पनि उत्पादन कटौतीका कारण यस वर्ष ५० प्रतिशतसम्म पनि बिजुली बिक्री हुन नसक्ने अवस्था आएको उनले बताए।
उनका अनुसार उद्योगहरूमा लाइन काट्नुअघि आयोजनाले दैनिक करिब २२ मेगावाट बिजुली उत्पादन गरिरहेको थियो। तर हाल कहिले ८ मेगावाट, कहिले १० मेगावाट मात्र उत्पादन भइरहेको र कहिलेकाहीँ त प्लान्ट नै बन्द गर्नुपर्ने अवस्था आएको छ। २५ मेगावाट क्षमताको अपर दोर्दी र ३० मेगावाट क्षमताको न्यादिन जलविद्युत् आयोजना पनि यस्तै समस्याबाट प्रभावित भएको उनले उल्लेख गरे।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार निजी क्षेत्रका आयोजनाहरूबाट अहिले उत्पादित विद्युत्को ठ्याक्कै कति परिमाण खेर गइरहेको भन्ने तथ्यांक संकलनको काम भइरहेको छ। इप्पानका अनुसार ८४ मेगावाट क्षमताको राहुघाट र २५ मेगावाट क्षमताको अपर दोर्दी जलविद्युत् आयोजनाको उत्पादन पनि घटाइएको छ। शुक्रबार मात्र करिब २०० मेगावाट विद्युत् खेर गएको अनुमान गरिएको इप्पानले जनाएको छ। अहिले केही आयोजनामा उत्पादन पुनः सुरु भइसकेको र थप केही आयोजनामा उत्पादन रोकिएको हुँदा यकिन तथ्यांक अद्यावधिक गर्ने काम भइरहेको इप्पानले बताएको छ।
यसबीचमा, लाइन काटिएका उद्योगहरूमध्ये घराना फुड्स र गोयन्का फुड्सले प्राधिकरणले उपलब्ध गराएको किस्ताबन्दी सुविधा अनुसार बक्यौता रकमको एक किस्ता बुझाएपछि पुनः विद्युत् लाइन जडान भएको छ। यस हिसाबले अझै २३ उद्योगमा लाइन काटिएको अवस्थामा रहेका छन्।
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अहिले करिब १३० मेगावाट बराबरको विद्युत् खेर गइरहेको स्वीकार गरे। उनका अनुसार यो सबै उद्योगमा लाइन काटिएकै कारण नभई हालको वर्षात्का कारण नदीमा पानीको बहाव बढेर उत्पादन क्षमता अत्यधिक भएको कारण पनि हो। ढकालले उद्योगहरूमा लाइन काटिएकाले मात्र आयोजना बन्द गर्न निर्देशन दिइएको नभई मागभन्दा बढी उत्पादन हुँदा कतिपय आयोजनालाई उत्पादन नगर्न आग्रह गरिएको बताए।
हाल नेपालमा कुल विद्युत् उत्पादन क्षमता करिब ३ हजार मेगावाट पुगेको छ। यसमध्ये आन्तरिक माग पिक समयमा करिब १ हजार ९०० मेगावाट छ भने करिब १ हजार मेगावाट बिजुली भारततर्फ निर्यात भइरहेको प्राधिकरणले जनाएको छ।










प्रतिक्रिया दिनुहोस्