images
images

देशका मध्य क्षेत्रमा अझै वर्षा, भोलिदेखि मौसम सुधारको सम्भावना

काठमाडौं – देशका मध्य क्षेत्रका केही स्थानमा अझै वर्षा भइरहेको छ भने पूर्व र पश्चिमका धेरै स्थानमा गएरातिदेखि नै मौसममा सुधारको क्रम सुरु भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार काठमाडौँ उपत्यकासहित मध्य भेगका केही स्थानमा आज दिउँसोसम्म पानी पर्ने र रोकिने क्रम चल्नेछ। त्यसपछि भने क्रमशः मौसममा सुधार हुने अनुमान गरिएको छ।

उहाँका अनुसार आज हिजोजस्तो ठूलो वर्षाको सम्भावना भने छैन। दिउँसोपछि मौसम केही खुल्ने भए पनि आज घाम लाग्ने सम्भावना न्यून छ। तर भोलिदेखि पश्चिम र मध्य भेगका धेरै स्थानमा घाम लाग्ने र त्यसपछि देशभर मौसम घमाइलो र स्थिर हुने अपेक्षा गरिएको छ। बंगालको खाडीमा विकसित मोन्था चक्रवातको प्रभाव घट्दै गएपछि देशभर मौसममा सुधार आउन थालेको हो।

पछिल्ला केही दिनदेखि पश्चिमी वायू, अरब सागरमा बनेको प्रणाली र मोन्था चक्रवातको संयुक्त प्रभावका कारण वर्षा र हिमपात भएको थियो। महाशाखाका अनुसार हिजो पूर्वी भेगका केही स्थानमा भारी वर्षा भए पनि गएरातिदेखि सामान्य वर्षा मात्र भएको छ। आज कोशी प्रदेशका थोरै स्थान, साथै मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।

त्यस्तै, कोशी प्रदेशका उच्च पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा तथा बागमती र गण्डकीका उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्