images
images

मोन्था’ चक्रवातको असरले देशभर वर्षा र हिमपात, शनिबारदेखि मौसम सुधार हुने

काठमाडौँ – बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ को प्रभावका कारण शुक्रबार साँझसम्म नेपालको मौसम प्रभावित रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबारदेखि मौसम क्रमशः सुधार हुने अपेक्षा गरिएको छ। महाशाखाले जनाए अनुसार हाल देशमा पश्चिमी वायु र अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको पनि आंशिक असर परेको छ। यी प्रणालीहरूको प्रभावले देशभर सामान्यदेखि पूर्ण बदलीको स्थिति देखिएको छ।

कोशी, बागमती र लुम्बिनी प्रदेशका धेरै स्थानमा, गण्डकी प्रदेशका केही ठाउँमा तथा मधेस र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रहनेछ भने बाँकी प्रदेशहरूमा सामान्य बदली रहनेछ। सोही क्षेत्रहरूमा मध्यम वर्षाको साथै कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ।

कोशी, मधेस र बागमती प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी प्रदेशका एक-दुई ठाउँमा भारी वर्षा हुने सम्भावना छ। त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात हुन सक्ने अनुमान गरिएको छ।

रातिको समयमा पनि कोशी, मधेस र बागमती प्रदेशका धेरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा हुन सक्ने सम्भावना छ। साथै, कोशी र बागमती प्रदेशका उच्च पहाडी क्षेत्रहरूमा भारी हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्