काठमाडौँ — अभिनेत्री, नृत्याङ्गना, पर्वतारोही तथा टिभी शो ‘हिमालय रोडिज’ की जज कविता नेपालीले संसारका दुई अग्ला हिमाल सगरमाथा र ल्होत्से आरोहण गरेकी थिइन्। जेठ पहिलो साता उनले २४ घण्टाभित्रै दुवै हिमाल सफलतापूर्वक आरोहण गरी आफ्नो साहस र निडरताको उदाहरण प्रस्तुत गरेकी हुन्। उनीको यो उपलब्धिपछि व्यापक प्रशंसा भइरहेको छ। प्रशंसकहरूले उनको आरोहण यात्रालाई फिल्ममा समेट्न आग्रह गर्दै आएका थिए। सोही अनुरोधअनुसार कविताले अब दुवै हिमाल आरोहणको डकुमेन्ट्री फिल्म सार्वजनिक गरेकी छन्।
डकुमेन्ट्रीमा काठमाडौंबाट सुरु भएको आरोहण, हिमालमा बिताएका क्षण र सफल फर्काइसम्मका दृश्य समावेश छन्। एडभेन्चर फोटो–भिडियोग्राफर विधान श्रेष्ठले कविताको सम्पूर्ण यात्रालाई क्यामेरामा कैद गरेका हुन्। कविताले आफ्नो युट्युब च्यानलमार्फत फिल्म सार्वजनिक गरेकी हुन्। संवादात्मक शैलीमा तयार गरिएको उक्त डकुमेन्ट्रीको लम्बाइ करिब एक घण्टा रहेको छ।
फिल्म सार्वजनिक गर्दै कविताले लेखेकी छन्, “यो फिल्म संसारका दुई अग्ला हिमालहरूको मेरो यात्रा हो—२४ घण्टाभित्रको सहनशीलता, प्रतिबिम्ब र आत्मविकासको कथा।” उनले थप लेखेकी छन्, “यस भिडियोमा मैले आरोहणले सिकाएका पाठ, सामना गरेका कठिनाइ, पार गरेका चुनौती र जीवनप्रतिको दृष्टिकोण परिवर्तन गर्ने अनुभव सेयर गरेकी छु। आशा छ, यो यात्राले तपाईंहरूलाई आफ्ना चुनौती पार गर्न प्रेरित गर्नेछ।”
हाल कविता नेपाली अभिनीत फिल्म ‘एक्लो’ पुस १७ गते रिलिज हुने तयारीमा छ। उनी ‘हिमालय रोडिज’ की स्थायी जज पनि हुन्।













प्रतिक्रिया दिनुहोस्