काठमाडौँ — पुँजी बजार सुधार सुझाव कार्यदलले नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को पुनःसंरचना गर्दै प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) मार्फत पुँजी वृद्धि प्रक्रिया सुरु गर्न सरकारलाई सुझाव दिएको छ। कार्यदलले पुँजी बजारमा लगानीकर्ताको मनोबल वृद्धि गर्न आवश्यक प्रणालीगत र कानुनी सुधारका सुझावसमेत समावेश गर्दै आफ्नो प्रतिवेदन सार्वजनिक गरेको हो।
कार्यदलको प्रतिवेदनमा व्यक्तिको कर निर्धारणका क्रममा आय वर्षभित्र सामूहिक लगानी योजनामा गरिएको लगानीको निश्चित रकम आयकर कटौतीमा समावेश गर्न सकिने व्यवस्था गर्न सरकारलाई सिफारिस गरिएको छ। अर्थमन्त्रीस्तरबाट असोज ३ गते गठन गरिएको कार्यदलले धितोपत्र बाँडफाँटसम्बन्धी विद्यमान कानुनी व्यवस्थाको पुनरावलोकन गर्न र सङ्गठित संस्थाले आईपीओ जारी गर्दा जारी पुँजीको न्यूनतम १० प्रतिशत सीमाबारे पनि पुनर्विचार गर्न सिफारिस गरेको छ।
प्रतिवेदनमा पुँजी बजारमा सर्वसाधारणको सहभागिता, वैकल्पिक लगानी अवसरको कमी, दीर्घकालीन पुँजी परिचालनको आवश्यकता, कानुनी ढाँचा, स्रोतसाधन र संस्थागत क्षमतालगायत पक्षको विश्लेषण गर्दै सुधारका ठोस सुझावहरू प्रस्तुत गरिएको उल्लेख छ।
कार्यदलले बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका संस्थापक शेयर खरिद–बिक्रीसम्बन्धी प्रावधान पनि पुनरावलोकन गर्न सुझाव दिएको छ। यसले लगानीकर्ताको व्ययभार घटाउन र पुँजी बजारलाई लागत–प्रभावी बनाउन मद्दत गर्ने कार्यदलको भनाइ छ।












प्रतिक्रिया दिनुहोस्