काठमाडौँ — किष्ट मेडिकल कलेजमा सुत्केरीको मृत्यु प्रकरणमा अस्पताल प्रशासन र मृतकका आफन्तबीच सहमति भएपछि स्थिति क्रमशः सामान्य बन्दै गएको छ। सोमबार मध्यराति जिल्ला प्रशासन कार्यालयमा भएको लामो छलफलपछि मौखिक सहमति बनेको थियो। मंगलबार बिहानदेखि दुवै पक्षले सो सहमतिको लिखित दस्तावेज तयार पार्ने कार्य अघि बढाएका छन्।
तर सम्झौताका विस्तृत बुँदाबारे दुवै पक्षले अहिले पनि सार्वजनिक गर्न मानेका छैनन्। हलेसी तुवाचुङ नगरपालिका–९ की ३३ वर्षीया मीना राई गत शुक्रबार (कार्तिक ७ गते) सुत्केरी गराउन किष्ट मेडिकल कलेजमा भर्ना भएकी थिइन्। सामान्य सुत्केरीपछि अत्यधिक रक्तस्राव भएका कारण उनको मृत्यु भएको अस्पताल प्रशासनको भनाइ छ।
घटनापछि राईका आफन्त र स्थानीयले अस्पतालमा तोडफोड र नाराबाजी गरेका थिए। आइतबार र सोमबारसम्म जारी विरोध प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रयोग गरेको थियो।
सहमति पश्चात् अस्पतालको सेवा क्रमशः सुचारु गर्ने तयारी गरिएको छ। सुरक्षा निकायको निगरानीमा नियमित उपचार सेवा पुनः सञ्चालन गर्न अस्पताल प्रशासनले तयारी थालेको जनाएको छ।












प्रतिक्रिया दिनुहोस्