काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिहरूबीच त्रिपक्षीय संवाद गर्ने भएकी छन्। भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि गठित सरकारले पहिलोपटक यस्तो उच्चस्तरीय संवाद गर्न लागेको हो।
प्रधानमन्त्री कार्कीको आह्वानमा आज बुधबार अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने तय भएको छ।सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार निर्वाचनको वातावरण बनाउन सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिहरूबीचको यो पहिलो औपचारिक छलफल हो। उनले आगामी निर्वाचनलाई सफल बनाउनका लागि सरकार विभिन्न चरणमा दलहरू र सम्बद्ध पक्षहरूसँग निरन्तर वार्ता गरिरहेको बताए।
यस अघि कात्तिक ४ गते प्रधानमन्त्री कार्कीको पहलमा सरकारले नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायत दलहरूसँग संवाद गरेको थियो। उक्त बैठकमा राजनीतिक दलहरूले निर्धारित समयमा निर्वाचन सम्पन्न गर्न आवश्यक वातावरण बनाउन सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।
मन्त्री खरेलका अनुसार सरकारले निर्वाचन तयारीका सबै पक्ष अगाडि बढाएको छ र निर्वाचन आयोगसँग पनि प्राविधिक तयारीबारे निरन्तर समन्वय भइरहेको छ। लामो समयपछि सुरु भएको यस्तो औपचारिक राजनीतिक संवादले निर्वाचनमात्र होइन, समग्र राजनीतिक स्थायित्वतर्फ पनि सकारात्मक संकेत दिएको सम्बद्ध पक्षहरूले बताएका छन्।










प्रतिक्रिया दिनुहोस्