काठमाडौँ — मनाङमा परेको तीव्र हिमपातका कारण तिलिचो क्षेत्रमा फसेका सयौँ पर्यटक र नागरिकको नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले संयुक्त रूपमा उद्धार गरेका छन्। सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार गएरातिदेखि निरन्तर परेको हिउँपछि तिलिचो बेस क्याम्पमा अलपत्र परेका ७५० जनालाई सुरक्षित रूपमा उद्धार गरी डिस्याङ गाउँपालिका–९ खाङसारमा ल्याइएको छ।
त्यसैगरी, अन्य ५० जना पर्यटकलाई तिलिचो बेस क्याम्पमै सुरक्षित राखिएको बताइएको छ। उद्धार गरिएका पर्यटकलाई खाङसारमा अस्थायी रूपमा आवासको व्यवस्था मिलाइएको र उनीहरूलाई क्रमशः सुरक्षित स्थानतर्फ फर्काइने तयारी भइरहेको थापाले जानकारी दिए।
यसबीच, तिलिचो तालबाट फर्कँदै गर्दा उचाइको कारण (लेक लागेर) बेहोस भएका काठमाडौँ महानगरपालिका–३१ का ४५ वर्षीय वीरेन्द्र रसाइलीलाई सशस्त्र प्रहरी र नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङको टोलीले उद्धार गरी हुम्डे स्वास्थ्य चौकी पुर्याएको छ। सशस्त्र प्रहरी बलले पर्वतीय उद्धार तालिम शिक्षालय स्थापना गरेपछि उच्च हिमाली क्षेत्रमा खोज तथा उद्धार कार्य थप प्रभावकारी र सहज भएको जनाएको छ।










प्रतिक्रिया दिनुहोस्