मुस्ताङ । प्रतिकूल मौसमका कारण मुस्ताङ प्रशासनले उच्च हिमाली क्षेत्रका पदमार्गमा यात्रा नगर्न पर्यटक र पदयात्रीलाई आग्रह गरेको छ। जल तथा मौसम विभागले बुधबारसम्म देशभर मौसम अस्थिर रहने जनाएको भन्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङले सोमबार सूचना जारी गर्दै यात्रा स्थगित गर्न अनुरोध गरेको हो।
प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार मुस्ताङ–डोल्पा मार्ग, पाँच हजार ८०० मिटर उचाइको याकखर्क क्षेत्र, पाँच हजार ४०० मिटर उचाइको थोरङ्ला पास, छ हजार मिटरको सरिबुङ पास र मुस्ताङ–म्याग्दी जोड्ने धम्पुस पिक पदमार्गमा हिमपातको उच्च जोखिम देखिएको छ।
मौसम पूर्वानुमान अनुसार ती क्षेत्रहरूमा बुधबारसम्म भारीदेखि हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ। यस कारण प्रशासनले पर्यटक, तीर्थयात्री तथा स्थानीय बासिन्दालाई अनावश्यक जोखिम नगरी सतर्क रहन र यात्रा नगर्न आग्रह गरेको हो।
प्रशासनले जिल्लाका अन्य भागहरूमा पनि हिमपात र वर्षा हुन सक्ने भएकाले यात्रा अघि मौसमसम्बन्धी जानकारी लिएर मात्र निर्णय गर्न अनुरोध गरेको छ।












प्रतिक्रिया दिनुहोस्