काठमाडौँ । पश्चिमी वायु र अरब सागरको न्यून चापीय प्रणालीको संयुक्त प्रभावका कारण देशभरको मौसम फेरिएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थानमा गएरातिदेखि वर्षा र हिमपात सुरु भएपछि जनजीवन प्रभावित भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै ठाउँमा मध्यम वर्षा र हिमपात जारी रहने अनुमान गरिएको छ।
साथै बागमती, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा ठूलो हिमपातको सम्भावना समेत रहेको छ। तराईका केही भागमा पनि हल्का वर्षा हुन सक्ने अनुमान गरिएको महाशाखाले बताएको छ। राति पनि पश्चिमी र मध्य भागमा वर्षा र हिमपातको क्रम जारी रहने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
विशेषगरी मुस्ताङ, मनाङ, डोल्पा र धौलागिरि क्षेत्रमा भारी हिमपातको जोखिम रहेकाले स्थानीय प्रशासनले पदयात्री र पर्यटकलाई उच्च सावधानी अपनाउन आग्रह गरेको छ।
मुस्ताङ प्रशासनले याकखर्क, थोरङ्ला पास, सरिबुङ पास र धम्पुस पिकलगायतका पदमार्गमा यात्रा नगर्न आग्रह गरेको हो।
मौसमविद्हरूका अनुसार शुक्रवारसम्म देशका हिमाली क्षेत्रमा हिमपात र वर्षाको असर रहनेछ। यसले पर्वतारोहण, पर्यटन र कृषि क्षेत्रमा प्रत्यक्ष असर पार्न सक्ने भएकाले यात्रा तथा कार्य योजना पुनःविचार गर्न सुझाव दिइएको छ।












प्रतिक्रिया दिनुहोस्