काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई एक राष्ट्रिय पर्वका रूपमा मनाउँदै सफल पार्न सबै पक्षलाई आह्वान गरेकी छन्। छठ पर्वको शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले असन्तुष्टि वा अडानका विषयहरू सडक प्रदर्शनबाट होइन, लोकतान्त्रिक अभ्यासमार्फत जनमतकाे अनुमोदनबाट समाधान गर्नुपर्ने बताएकी छन्।
“सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन। आफ्ना कुनै अडान वा असन्तुष्टि छन् भने पनि शान्तिपूर्ण तवरले राखी आमजनताको मन जितेर निर्वाचनबाट अनुमोदित गराउनु लोकतन्त्रको सर्वोत्तम विधि हो।” प्रधानमन्त्री कार्कीले छठ पर्वले सत्य, अहिंसा र प्रकृति प्रेममा प्रेरित गर्दै तराई र पहाडबीचको सांस्कृतिक एकता सुदृढ बनाउने भूमिका खेलेको उल्लेख गरिन्। उनले छठको आस्थाले नेपाली समाजमा सद्भाव, एकता र खुशी ल्याओस् भन्ने कामना समेत गरेकी छन्।
उनले हालको राजनीतिक परिस्थितिलाई सामान्यीकरण गर्दै सबै दल, समुदाय र नागरिकलाई जिम्मेवार र संवेदनशील रहँदै निर्वाचन सफल पार्न आग्रह गरिन्।










प्रतिक्रिया दिनुहोस्