काठमाडौँ । पाँचतारे होटल तारागाउँ रिजेन्सी होटल्स (हायात रिजेन्सी काठमाडौँ)ले जेनजी आन्दोलनका क्रममा भएको क्षतिपछि पुनःनिर्माण र स्तरोन्नतिका काम पूरा गरी एक वर्षभित्र पुनः सञ्चालनमा आउने जनाएको छ। होटलका कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठद्वारा आइतवार जारी विज्ञप्तिमा प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वरप्रसाद खनालले पुनःनिर्माणका लागि सरकारको सहयोग प्रदान गर्ने आश्वासन दिएकोप्रति होटलले आभार व्यक्त गरेको छ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा होटलमा भएको तोडफोड, लुटपाट र आगलागीका कारण अतिथि कक्ष, लबी, रेष्टुरेन्ट, बैंक्वेट, चैत्यसहित सम्पूर्ण संरचनामा ठूलो क्षति पुगेको र त्यसयता होटल पूर्ण रूपमा बन्द रहेको होटलले जनाएको छ। हाल क्षतिको मूल्यांकन भइरहेको र त्यसपछि स्तरोन्नति तथा पुनर्निर्माण कार्य आरम्भ गरिने उल्लेख गरिएको छ।
होटलले पुनःनिर्माणपछि अझ उत्कृष्ट र विस्तारित सेवासहित सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाउँदै नेपाललाई अन्तर्राष्ट्रिय पर्यटन बजारमा अझ उच्च स्थान दिलाउने लक्ष्य राखेको छ। “हामी पछिल्ला साढे दुई दशकदेखि नेपालको राजनीतिक र सामाजिक परिवर्तनका साक्षी रहँदै आएका छौं। द्वन्द्वकाल, भूकम्प, शान्ति प्रक्रिया र कोभिड–१९ महामारीजस्ता चुनौतीपूर्ण समयहरूमा समेत हजारौं व्यक्तिलाई रोजगारी प्रदान गर्दै देशको पर्यटन र अर्थतन्त्रमा निरन्तर योगदान दिंदै आएका छौं,” विज्ञप्तिमा उल्लेख छ।
होटलले नेपाल सरकारको राजस्व वृद्धि र आर्थिक विकासमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गर्दै पुनः सञ्चालनपछि नेपालको ‘फ्ल्यागशिप होटल’को रूपमा पर्यटन क्षेत्रको प्रतिष्ठा अझ उकास्ने जनाएको छ। हायात रिजेन्सी हालसम्म पर्यटन क्षेत्रमा सबैभन्दा बढी आयकर तिर्ने होटलको रूपमा सात पटक र सबैभन्दा धेरै विदेशी मुद्रा संकलन गर्ने होटलको रूपमा दुई पटकसम्म सरकारबाट सम्मानित भइसकेको छ।










प्रतिक्रिया दिनुहोस्