images
images

धुवाँ र धुलो हटाउन दिल्लीमा ‘क्लाउड सिडिङ’ प्रयोग, कृत्रिम वर्षाको तयारी

नयाँदिल्ली – भारतले राजधानी नयाँदिल्लीमा पहिलो पटक ‘क्लाउड सिडिङ’ अर्थात् कृत्रिम वर्षा परीक्षण सञ्चालन गरेको छ। यो प्रविधिको माध्यमबाट वायुमण्डलमा रहेका धुवाँ, धुलो र सूक्ष्म कणलाई वर्षासँगै तल झारेर प्रदूषण कम गर्ने लक्ष्य लिइएको छ।

दिल्लीका मन्त्री मञ्जिन्दर सिंह सिरसाले जारी गरेको विज्ञप्तिअनुसार सेनाको सहयोगमा दिल्लीको उत्तरी क्षेत्र बुराडी मा विमानमार्फत क्लाउड सिडिङ परीक्षण गरिएको हो। उनले भने, “यदि मौसम अनुकूल रह्यो भने अक्टोबर २९ (बुधवार) मा दिल्लीमा कृत्रिम वर्षा गराइनेछ, जसबाट हावाको प्रदूषणमा उल्लेखनीय सुधार आउने अपेक्षा छ।”

क्लाउड सिडिङ प्रक्रियामा विमान वा अन्य उपकरणमार्फत नुन, चाँदी आयोडाइड वा सोडियम क्लोराइडजस्ता रासायनिक तत्वहरू बादलमा छरिन्छन्, जसले कृत्रिम रूपमा वर्षा गराउँछ। भारतले यस प्रविधिको प्रयोग पहिलोपटक गरेको हो, भने चीनले सन् २००८ को बेइजिङ ओलम्पिकका बेला वर्षा नियन्त्रणका लागि यही प्रविधि प्रयोग गरेको थियो।

परीक्षणमा प्रयोग गरिएका रासायनिक पदार्थको नाम सार्वजनिक गरिएको छैन। तर वातावरणविद्हरूले यो प्रविधिले अल्पकालीन रूपमा प्रदूषण घटाउन मद्दत पुर्‍याउने भए पनि दीर्घकालीन समाधानका लागि स्रोतमै प्रदूषण नियन्त्रण आवश्यक रहेको बताएका छन्।

तीन करोडभन्दा बढी जनसंख्या रहेको नयाँदिल्ली हाल विश्वकै सबैभन्दा प्रदूषित राजधानीहरूमध्ये एक हो। सेप्टेम्बरमा प्रकाशित अध्ययनले दिल्लीको ऐतिहासिक लालकिल्ला समेत लगातारको प्रदूषणका कारण कालो हुँदै गएको चेतावनी दिएको थियो।

प्रतिक्रिया दिनुहोस्