images
images

नेपाल सम्वत् ११४६ को शुभारम्भ, नेवार समुदायमा नयाँ वर्षको उल्लास

काठमाडौँ : नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी उल्लासपूर्वक मनाइँदैछ। नेवार समुदायले यस दिनलाई नयाँ वर्षको रूपमा विशेष सम्मानका साथ मनाउने परम्परा रहिआएको छ। राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ (इ.सं. ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वत्को सुरुआत गरेका थिए। उनी सामाजिक न्याय र आर्थिक समानताको प्रतीकका रूपमा स्मरण गरिन्छन्।

लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा. त्रिरत्न मानन्धरका अनुसार नेपाल सम्वत् लिच्छविकालका राजा राघवदेवको शासनकालमा सुरु भई पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय सम्वत्का रूपमा प्रयोगमा रह्यो। “लिच्छविकालअघि शक सम्वत् चलनमा थियो, तर देशकै नामबाट राखिएको नेपाल सम्वत् मौलिक र स्वदेशी पहिचान बोकेको सम्वत् हो,” उनले बताए।

विसं २००७ मा प्रजातन्त्र पुनर्स्थापनापछि नेपाल सम्वत्लाई राष्ट्रिय मान्यता दिलाउन अभियान सुरु भएको थियो। हाल काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत स्थानमा नेवार समुदायले विशेष सांस्कृतिक कार्यक्रम, र्याली र पूजापाठसहित नयाँ वर्षको उत्सव मनाउँदैछन्।

गरिब जनताको ऋणमोचन गरी सामाजिक समानताको उदाहरण प्रस्तुत गरेका शंखधर साःख्वाको योगदानको कदर गर्दै तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०५६ सालमा उनलाई राष्ट्रिय विभूति घोषणा गरेका थिए। त्यसपछि २०६५ सालमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सम्वत्लाई राष्ट्रिय मान्यता दिने घोषणा गरेका थिए।

कार्तिक कृष्ण औँसीका दिन पुरानो बहीखाता बन्द गरी कार्तिक शुक्ल प्रतिपदाको दिन नयाँ बहीखाताको शुभारम्भ गर्ने परम्परा अझै कायम छ, जसले नयाँ वर्षको आर्थिक र सांस्कृतिक सुरुआतको प्रतीक जनाउँछ।

प्रतिक्रिया दिनुहोस्