images
images

फागुन २१ मा निष्पक्ष निर्वाचन गराउने प्रधानमन्त्री कार्कीको प्रतिबद्धता

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने सरकारको दृढ प्रतिबद्धता व्यक्त गरेकी छन्। तिहारको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले निर्वाचन तयारीसँगै राजनीतिक संवाद र सुरक्षा व्यवस्थाको काम सन्तोषजनक ढंगले अघि बढेको बताइन्।

प्रधानमन्त्री कार्कीले भनिन्, “फागुन २१ गतेभित्र निर्वाचन सम्पन्न गर्ने, त्यसअगाडि आदर्श राज्य सञ्चालनको सुनिश्चिततासहित सुशासन कायम गर्ने, भ्रष्टाचारविरुद्ध ठोस कदम चाल्ने र जेनजी आन्दोलनका क्रममा भएका दमन तथा बेथितिको निष्पक्ष छानबिन गर्ने कार्य हाम्रो प्राथमिक जिम्मेवारी हो।” उनका अनुसार सरकारले छ महिनाभित्र स्थिर सरकार गठन गर्ने लक्ष्यसहित निर्वाचनको वातावरण निर्माणमा दत्तचित्त भएर लागेको छ।

सन्देशमा उनले देश र विदेशमा रहेका सबै नेपालीहरूलाई तिहार, म्ह पूजा, नेपाल संवत ११४६ र छठ पर्वका अवसरमा मंगलमय शुभकामना दिँदै एकता, शान्ति र समृद्धिको बाटोमा अघि बढ्न आग्रह गरेकी छन्। उनले भनिन्, “कुनै भ्रम र लहडमा नपरी सबै नेपालीले मिलेर निराशा र अन्धकारको अन्त्य गर्दै नयाँ नेपालको उज्यालो भविष्य निर्माणतर्फ एकजुट हुनुपर्छ।”

प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनले देशमा परिवर्तनको भरोसा र दायित्व सुम्पेको स्मरण गर्दै सरकार समावेशी, पारदर्शी र उत्तरदायी शासनको मार्गमा अघि बढिरहेको स्पष्ट गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्