images
images

चुनावलाई अवसरका रूपमा लिन राष्ट्रपति पौडेलको जेनजी पुस्तालाई आग्रह

काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावलाई “इतिहास रच्ने अवसर”को रूपमा लिन जेनजी पुस्तालाई आग्रह गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार प्रधानमन्त्री सुशीला कार्की, अन्तरिम मन्त्रिपरिषद्का सदस्यहरू र जेनजी अभियन्तासँगको छलफलमा राष्ट्रपति पौडेलले युवापुस्ताको नेतृत्वमा सुरु भएको आन्दोलनले नयाँ दिशामा देश अघि बढाउन निर्णायक भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपतिले युवाहरूलाई भ्रष्ट र अक्षम नेतृत्व पराजित गर्दै असल र इमानदार प्रतिनिधिहरूलाई जिताउने जिम्मेवारी लिँदै चुनावमा सक्रिय हुन आग्रह गर्नुभएको हो। “देश सुशासन र न्यायको बाटोमा अघि बढोस्, युवाहरू बाध्यताले विदेश पलायन हुन नपरोस्,” राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै पोखरेलले बताउनुभयो।

राष्ट्रपतिले युवाहरूको आन्दोलनले ल्याएको सकारात्मक ऊर्जा र जनचेतनाको सम्मानस्वरूप आफ्नो उपस्थितिमा सरकार र जेनजी प्रतिनिधिलाई सहभागी गराएर छलफल गरेको बताउनुभयो। उहाँले आन्दोलनका बाँकी मागहरू सम्बोधन गर्न सरकारले ध्यान दिने विश्वास पनि व्यक्त गर्नुभयो। उनका अनुसार भ्रष्टाचार अन्त्य र सुशासन स्थापना गर्ने युवाहरूको आन्दोलनकै उपलब्धिका रूपमा राष्ट्रपतिले संविधानमा निहित “राष्ट्रिय एकता प्रवर्द्धन” गर्ने अधिकार प्रयोग गरी अन्तरिम सरकार गठन भएको बताउनुभयो।

“अब यो आन्दोलनको सफलताका रूपमा चुनावमा सहभागी भई नयाँ इतिहास लेख्ने समय आएको छ,” पौडेलले भन्नुभयो। उहाँले युवाहरूको आन्दोलनलाई आफ्नो स्वार्थ पूर्ति गर्ने माध्यम बनाउन खोज्नेहरूबाट सावधान रहन चेतावनी पनि दिनुभयो। जेनजीका प्रतिनिधिहरूले आफ्नो आन्दोलन सामाजिक–आर्थिक न्याय, सुशासन र भ्रष्टाचारविरुद्ध केन्द्रित रहेको र संविधान, लोकतन्त्र, संघीयता तथा समावेशीताको विरोधमा नभएको स्पष्ट पारे। उनीहरूले चुनाव सम्पन्न गर्नुपर्नेमा दृढ प्रतिबद्धता जनाउँदै आफ्ना मागहरू पूरा गर्न सरकारको ध्यानाकर्षण गराए।

छलफलमा प्रधानमन्त्री सुशीला कार्कीसहित अन्तरिम मन्त्रिपरिषद्का सबै सदस्य र जेनजी प्रतिनिधिहरू — मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुञ्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता, ओजवीरराज थापा, पुरुषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउद, अप्सना बानु, प्रदीप पाण्डे, गुञ्जन शाह ठकुरी र धीरज जोशी — उपस्थित थिए।

प्रतिक्रिया दिनुहोस्