काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर २६ ले लैनचौर क्षेत्रमा एनएफसी (नियर फिल्ड कम्युनिकेसन) चिप प्रविधिमा आधारित डिजिटल ठेगाना प्रणाली जडान सुरु गरेको छ ।
लैनचौरस्थित वडा कार्यालयमा ‘०९–लक्ष द्रव्य ६१११’ नम्बरको प्लेटसहितको डिजिटल ठेगाना प्रणाली जडान गर्दै वडाध्यक्ष तथा महानगरपालिकाको सुशासन समितिका संयोजक ख्यामराज तिवारीले यस कार्यक्रमको औपचारिक शुभारम्भ गरे ।
वडा कार्यालयपछि अल्का बस्ती मार्ग, लैनचौर मार्ग र वरिपरिका अन्य क्षेत्रमा पनि प्लेट जडान गर्ने योजना रहेको छ । वडाले आर्थिक वर्ष २०८१/८२ मा टेन्डर प्रक्रियामार्फत डिजिटल ठेगाना प्रणाली खरिद र जडानको काम अघि बढाएको हो । यसका लागि कुल ४५ लाख रुपैयाँ खर्च हुनेछ ।
वडाभित्र ६ हजार ८५० घरधुरीमा २०८२ कात्तिक मसान्तसम्म प्रणाली पूर्ण रूपमा जडान गर्ने लक्ष्य राखिएको छ । काम ठेक्का जेबीएस इन्फ्रास्ट्रक्चरले पाएको छ । वडाध्यक्ष तिवारीका अनुसार पुरानो ठेगाना र बाटोका नामहरू यथावत राख्दै प्रत्येक घरमा क्यूआर कोड र एनएफसी चिपसहितको प्लेट जडान गरिएको छ । “जडान गरिएको प्लेटमा नेपाली स्थानीय कोडसँगै युनिभर्सल गुगल प्लस कोड समावेश छ। घरधनीले प्लेटको फोटो पठाए मात्र प्रणाली प्रयोग गर्न सक्नेछन्।
क्यूआर स्क्यान गरेपछि घरको लोकेसनमा सजिलै पुग्न सकिन्छ,” उनले जानकारी दिए । एनएफसी प्लेट एल्मुनियममा लेजर मार्फत तयार गरिएको छ र यसमा खानेपानी, बिजुली, इन्टरनेट जस्ता सेवासँग सम्बन्धित ग्राहक नम्बर पनि राखिएको छ। प्लेटमा राखिएको आईडी नम्बर दोहोरिन नपाउने गरी प्रणाली डिजाइन गरिएको छ, जसलाई अनलाइन माध्यमबाट समेत खोज्न सकिन्छ।
नम्बर प्लेटको क्यूआर कोडको प्रयोगले घरमा आउने पाहुनाले ‘डोर बेल’को रूपमा प्रयोग गर्न सक्नेछन्। त्यस्तै, फोहोर संकलन, सर्वेक्षण, स्थानीय सूचना प्रवाह जस्ता कामहरू छिटो र न्यून लागतमा गर्न सकिनेछ। वडाध्यक्ष तिवारीले भने, “विद्युतीय शासनको पहिलो पूर्वाधार भनेकै सेवाग्राहीको घर र ठेगाना प्रणाली हो। यसले नागरिक सहभागिता सुनिश्चित गर्दै सेवा प्रवाहमा प्रत्यक्ष भागीदारीको अवसर दिन्छ। यो प्रविधि अन्य वडाहरूमा पनि विस्तार हुँदै जानेछ।”












प्रतिक्रिया दिनुहोस्