images
images

सुपर सिक्समै विश्वकप प्रवेश: नेपाल फेरि टी–२० विश्वकपमा

नेपाल लगातार दोस्रो पटक आईसीसी टी–२० विश्वकप २०२६ का लागि छनोट भएको छ। बुधबार सम्पन्न सुपर सिक्सको दोस्रो खेलमा यूएईले सामोयामाथि ७७ रनको फराकिलो जित निकालेपछि नेपाल र ओमान दुई खेलअघि नै विश्वकपका लागि छनोट भएका हुन्। विश्वकप सन् २०२६ फेब्रुअरी र मार्च महिनामा भारत र श्रीलंकामा आयोजना हुने तय भएको छ। योसँगै नेपालले लगातार दोस्रो र समग्रमा तेस्रो पटक टी–२० विश्वकप खेल्ने अवसर पाएको छ।

नेपालले पहिलो पटक सन् २०१४ मा विश्वकप खेलेको थियो। त्यसपछि सन् २०२४ मा दोस्रो पटक विश्वकपमा स्थान बनाएपछि अब तेस्रो पटकको लागि पनि छनोट भएको हो। तेस्रो पटक विश्वकपमा पुग्ने टोलीमा सोमपाल कामी मात्रै यस्ता खेलाडी हुन्, जसले पहिलो संस्करण (सन् २०१४) को विश्वकप पनि खेलेका थिए। नेपालले सन् २०२३ मा घरेलु मैदानमा सम्पन्न छनोट प्रतियोगितामा यूएईलाई ८ विकेटले पराजित गर्दै विश्वकपमा स्थान सुरक्षित गरेको थियो। त्यसअघि सन् २०२२ मा यूएईसँग पराजित हुँदा नेपालको विश्वकप खेल्ने सपना अपूर्ण रहेको थियो।

यसपटक सुपर सिक्समा यूएईले सामोयालाई हराएपछि आफ्ना विश्वकपमा पुग्ने सम्भावना बलियो बनाएको छ, तर अन्तिम खेलको नतिजा र अन्य टोलीहरूको प्रदर्शनमा पनि त्यसको निर्भरता रहनेछ। बुधबारकै पहिलो खेलमा कतारले जापानलाई ३ विकेटले पराजित गरेपछि जापानको विश्वकप पुग्ने सम्भावना झन् कमजोर बनेको छ। सुपर सिक्सको अन्तिम चरणमा आज राति ८ः४५ बजे नेपाल र ओमान आमनेसामने हुँदैछन्। नेपालले यसअघि सुपर सिक्समा यूएईलाई १ रन र कतारलाई ५ रनले पराजित गरेको थियो। शुक्रबार नेपालले आफ्नो अन्तिम खेल सामोयाविरुद्ध खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्