images
images

मनास्लु हिमालबाट मात्रै झन्डै १६ करोड राजस्व

काठमाडौं । यस वर्ष मनास्लु हिमाल आरोहणबाट करिब १५ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरिएको छ। पर्यटन विभागका अनुसार मनास्लु आरोहणका लागि अनुमति लिएका ३७४ जनाबाट ११ लाख २२ हजार अमेरिकी डलर, अर्थात् झन्डै १५ करोड ७६ लाख रुपैयाँ राजस्व प्राप्त भएको हो। ८,१६३ मिटर अग्लो मनास्लु हिमाल आरोहणका लागि यस वर्ष ३१ समूहका ३७४ जनाले अनुमति लिएका छन्। तीमध्ये ९५ महिला र २७९ पुरुष छन्।

विभागका निर्देशक हिमाल गौतमका अनुसार यो सिजनमा विभिन्न ४२ हिमालका लागि अनुमति लिएका आरोहीहरूबाट कुल १९ करोड रुपैयाँ राजस्व सङ्कलन भएको हो, जसमा करिब १६ करोड रुपैयाँ मनास्लुबाट मात्र आएको छ। यस वर्ष कुल ८०२ आरोहीले विभिन्न हिमाल आरोहणका लागि अनुमति लिएका थिए। तीमध्ये सगरमाथा आरोहणका लागि चार जनाले मात्र अनुमति लिएर ४२ लाख १२ हजार रुपैयाँ राजस्व तिरेका छन्।

त्यस्तै, धौलागिरि आरोहणका लागि १० जनाले, र ल्होत्से, मकालु तथा चोयूका लागि दुई–दुई जनाले मात्र अनुमति लिएका छन्। विश्वको आठौँ र नेपालको सातौँ अग्लो शिखरका रूपमा चिनिने मनास्लु हिमाल गोरखाको चुमनुब्री गाउँपालिका–१, सामागाउँमा अवस्थित छ। पछिल्ला वर्षहरूमा मनास्लु हिमाल आरोहण गर्ने आरोहीहरूको संख्या अन्य हिमालहरूभन्दा उल्लेख्य रूपमा बढ्दै गएको विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्