आईसीसी टी–२० विश्वकप एसिया इस्ट–प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्स चरणको पहिलो खेलमा आज (आइतबार) नेपाल र चिरप्रतिद्वन्द्वी यूएई आमनेसामने हुने भएका छन्।ओमानको अल एमिरेट क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ। सुपर सिक्सको शीर्ष तीन स्थानमा रहने टोलीले आगामी वर्ष हुने टी–२० विश्वकपमा स्थान बनाउने भएकाले यो खेल दुवै टोलीका लागि निर्णायक बन्नेछ।
नेपालले आजको खेलमा यूएईलाई हराउँदै विश्वकप यात्रालाई अझ बलियो बनाउने लक्ष्य राखेको छ। अहिले नेपाल, यूएई र ओमानले समान २ अंक जोडेका छन्, तर नेपाल नेट रनरेटमा अघि छ। एसोसियट क्रिकेटमा नेपाल र यूएईबीचको प्रतिस्पर्धा ‘एल क्लासिको’का नामले परिचित छ। समूह ‘बी’को विजेताका रूपमा नेपाल सुपर सिक्समा प्रवेश गरेको हो भने यूएई समूह ‘ए’को विजेता हो।
समूह चरणमा नेपालले कुवेतलाई ५८ रनले र जापानलाई ५ विकेटले हराउँदै उत्कृष्ट प्रदर्शन गरेको थियो। सुपर सिक्समा नेपालले अब यूएईसँगै ओमान, कतार र सामोयासँग खेल्नेछ। जापानलाई समूह चरणमै पराजित गरिसकेकाले नेपालले सुपर सिक्समा जापानसँग खेल्ने छैन।










प्रतिक्रिया दिनुहोस्