आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत समूह ‘बी’को अन्तिम खेलमा नेपालले जापानलाई ५ विकेटले पराजित गर्दै समूह विजेता बनेको छ। यससँगै नेपाल सुपर सिक्स चरणमा प्रवेश गरेको छ। ओमानमा शुक्रबार सम्पन्न खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो। पहिलो ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३१ रनको योगफल बनाएको थियो। जापानका कप्तान केन्देल कादोवाकीले उत्कृष्ट प्रदर्शन गर्दै ४६ बलमा ६० रन जोडेका थिए। उनले ५ चौका र ३ छक्का प्रहार गरेका थिए।
इसाम रहमानले ३१ र इटो डेभिसले १७ रन योगदान दिए। नेपालका सन्दीप लामिछाने र गुलशनकुमार झाले समान २–२ विकेट लिए। १३२ रनको लक्ष्य पछ्याउँदै नेपालले १८ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै सहज जित हात पारेको हो। ओपनर आसिफ शेखले २१ बलमा ३८ रनको आक्रामक इनिङ खेले, जसमा १ चौका र ४ छक्का समावेश थिए। कुशल भुर्तेलले २१ रन, कप्तान रोहित पौडेलले १८ रन बनाए भने गुलशनकुमार झा २८ रनमा अविजित रहे।
जापानका शोमा स्लेटरले सर्वाधिक २ विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन्। यस जितसँगै नेपालले समूह चरणमा ४ अंकसहित शीर्ष स्थान हासिल गर्दै सुपर सिक्समा २ अंकसहित प्रवेश गरेको छ। नेपालले यसअघि कुवेतलाई ५८ रनले पराजित गर्दै सुपर सिक्समा स्थान बनाइसकेको थियो। जापानले पहिलो खेलमा कुवेतलाई ५ विकेटले हराए पनि सुपर सिक्समा अंक जोड्न नसक्ने भएको छ। अब नेपाल सुपर सिक्स चरणमा अन्य समूहका टिमहरूसँग भिड्दै विश्वकपका लागि स्थान सुनिश्चित गर्ने लक्ष्यमा अघि बढ्नेछ।












प्रतिक्रिया दिनुहोस्