images
images

नेपाल ‘सुपर सिक्स’ नजिक, पहिलो खेलमै कुवेतमाथि सहज जित

काठमाडौं : आइसिसी ट्वान्टी–२० विश्वकप एसिया तथा इस्ट–एसिया प्यासिफिक छनोट प्रतियोगितामा नेपालले शानदार सुरुवात गरेको छ। ओमानको अल अमिरतस्थित क्रिकेट मैदानमा बिहीबार सम्पन्न समूह ‘बी’को पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले पराजित गर्दै विजयी सुरुआत गरेको हो।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४१ रन बनाएको थियो। नेपालका लागि ओपनर कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गर्दै ५६ बलमा तीन चौका र तीन छक्कासहित ६६ रनको पारी खेले। त्यस्तै दीपेन्द्रसिंह ऐरीले १९ बलमा एक छक्का प्रहार गर्दै २० रन बनाए भने कप्तान रोहित पौडेलले १६ रन जोडे।

जवाफी ब्याटिङमा उत्रिएको कुवेतको पारी नेपालका बलरहरूले दबाबमा राखे। १८.१ ओभरमै सबै विकेट गुमाउँदै कुवेत ८३ रनमै समेटियो। कुवेतका लागि ओपनर क्लिन्टो एन्टोले २६ रन बनाए भने यासिन पटेलले १९ रनको योगदान दिए। बाँकी खेलाडी दोहोरो अंकमा पुग्न सकेनन्।

नेपालका बलरहरूमध्ये ललित राजवंशी, रोहित पौडेल र सन्दीप लामिछानेले समान २–२ विकेट लिए। त्यस्तै सोमपाल कामी, नन्दन यादव र कुशल भुर्तेलले एक–एक विकेट हात पारे।

पहिलो ओभरमै सोमपाल कामीले कुवेतका ओपनर रभिजा सान्दारुवानलाई बोल्ड गर्दै नेपाललाई सुरुवाती सफलता दिलाएका थिए। त्यसपछि कुवेत निरन्तर दबाबमा रह्यो र ठूला साझेदारी बनाउन सकेन।

कुवेतका बलरहरूबाट नवीनराज राजेन्द्रन र अनुदीप चन्दामाराले समान २–२ विकेट लिए भने मोहम्मद आकिफ फरुकले १ विकेट हात पारे। यो जितसँगै नेपाल ‘सुपर सिक्स’ चरणमा पुग्ने दिशामा एक कदम अगाडि बढेको छ। नेपालले समूह चरणको दोस्रो खेल शुक्रबार जापानविरुद्ध खेल्नेछ।

यस छनोटमा ९ टोली सहभागी छन्, जसलाई तीन समूहमा बाँडिएको छ। हरेक समूहको शीर्ष दुई टोली सुपर सिक्समा प्रवेश गर्नेछ। सुपर सिक्समा पनि राउन्ड रोबिन प्रणाली लागू हुनेछ। अन्ततः शीर्ष तीन टोलीले आगामी वर्ष भारत र श्रीलंकामा हुने ट्वान्टी–२० विश्वकपको १०औं संस्करणमा खेल्ने अवसर पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्