images
images

नेप्सेमा ११ कम्पनीको लाभांश घोषणा, अधिकतम २१ प्रतिशतसम्म प्रस्ताव

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत ११ कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्ताका लागि लाभांश घोषणा गरेका छन्। नेप्सेका अनुसार असोज ३ गतेसम्म २ बैंक, ४ हाइड्रोपावर, २ इन्भेष्टमेन्ट कम्पनी, २ विकास बैंक र १ उत्पादनमूलक कम्पनीले लाभांश प्रस्ताव सार्वजनिक गरेका हुन्।

घोषित लाभांश न्यूनतम ६ प्रतिशतदेखि अधिकतम २१ प्रतिशतसम्म रहेको छ। जेनजी आन्दोलनका कारण पूँजीबजारमा अनिश्चितता बढे पनि कम्पनीहरूले लाभांश घोषणा गरेका छन्। आन्दोलनका बीचमा गत बिहीबार एक दिन मात्र बजार खुलेको थियो, जसमा तीन पटक नकारात्मक सर्किट लागेर सात मिनेटमै कारोबार रोकिएको थियो।

हालसम्म घोषणा भएका प्रस्तावमा अधिकांश कम्पनीले बोनस सेयरलाई प्राथमिकता दिएका छन्। केहीले नगद लाभांश पनि प्रस्ताव गरे पनि आन्दोलनका कारण साधारणसभा स्थगित भएका छन्। हातवे इन्भेष्टमेन्ट नेपालले भदौ ३१ मा साधारणसभा सम्पन्न गरिसकेको छ भने माछापुच्छ्रे बैंकले भदौ २७ मा बुक क्लोज गरिसकेको छ। माछापुच्छ्रेले असोज १० मा साधारणसभा बोलाउँदै ४ प्रतिशत नगद र ४ प्रतिशत बोनससहित ८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

घोषणा गर्ने बैंकहरूमा एभरेष्ट बैंक अग्रस्थानमा छ। बैंकले १४ प्रतिशत नगद र ६ प्रतिशत बोनससहित कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। मुक्तिनाथ विकास बैंकले ४.६७ प्रतिशत नगद र १३.५३ प्रतिशत बोनससहित १८.२० प्रतिशत लाभांश, कामना सेवा विकास बैंकले ५.७९ प्रतिशत नगद र १० प्रतिशत बोनससहित १५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेका छन्।

उत्पादनमूलक कम्पनी नेपाल ल्युब आयलले सबैभन्दा बढी लाभांश घोषणा गरेको छ। कम्पनीले १.०५३ प्रतिशत नगद र २० प्रतिशत बोनससहित कुल २०.०५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। हाइड्रोपावर कम्पनीमध्ये सिक्लेस र मिडसोलु हाइड्रोपावरले ०.७८९ प्रतिशत नगद र १५ प्रतिशत बोनससहित १५.७८९ प्रतिशत, हातवे इन्भेष्टमेन्टले ०.६३२ प्रतिशत नगद र १२ प्रतिशत बोनससहित १२.६३२ प्रतिशत, अरुण भ्याली हाइड्रोपावरले ८.४२१ प्रतिशत र माछापुच्छ्रे बैंकले ८ प्रतिशत लाभांश घोषणा गरेका छन्।

नेपाल ल्युब आयलले असोज ३१ मा साधारणसभा र असोज १२ मा बुक क्लोज मिति तय गरेको छ। कामना सेवा विकास बैंक र युनिभर्सल पावर कम्पनीले क्रमशः असोज २४ र असोज २३ मा साधारणसभा गर्ने र असोज ८ मा बुक क्लोज गर्ने जानकारी दिएका छन्। अन्य कम्पनीले भने साधारणसभा तथा बुक क्लोज मिति सार्वजनिक गर्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस्